२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

आफ्ना श्रीमानकाे हत्या अभियुक्तको कैद मिनाहाविरुद्ध भारती मानन्धरले सुरु गरिन् अनसन

१७ असाेज, काठमाडाैं । आफ्ना श्रीमान् चेतन मानन्धरको हत्या अभियुक्त रिगल भनिने योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध भारती मानन्धरले अनसन थालेकी छन्।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा भारतीले अनसन सुरु गरेकी हुन्। उनले आफूले न्याय नपाएसम्म अनसन जारी राख्ने बताएकी छन् ।उनले भनिन्, ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु। म मर्न तयार छु, तर न्याय नपाएसम्म फर्किन्नँ।’ पहिलो दिन, बुधबार उनले २ घण्टा अनसन बस्ने जनाएकी छन्।

भारतीका श्रीमान् चेतनको २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी हत्या भएको थियो। चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगल भनिने योग ढकाल सत्तारुढ दल नेपाली कांग्रेसनिकट तरुण दलका नेता हुन्। यस वर्ष संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद सजाय मिनाहा गरेका थिए।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १३:३१