३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

१६ असाेज, काठमाडाैं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकले  प्रक्षेपण गरेको छ। विश्व बैंकका अनुसार मौद्रिक नीति खुकुलो बन्दै जानु, पर्यटन क्षेत्रमा सुधार आउनु, आयातमा लागेको प्रतिबन्ध हट्नुले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान गरिएको छ ।

विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

विश्व बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ मा भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान गरिएको छ। यो वर्ष कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्य रहे पनि सेवा क्षेत्रको वृद्धिदर सन्तोषजनक रहने विश्व बैंकको प्रक्षेपण छ।

चालु आर्थिक वर्षमा मूल्यवृद्धि भने ७.५ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ। जुन राष्ट्र बैंकले निर्धारण गरेको लक्ष्यभन्दा बढी हो। राष्ट्र बैंकले यो वर्षमा ६.५ प्रतिशतमा मूल्यवृद्धि कायम रहने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा मूल्यवृद्धि ७.८ प्रतिशत थियो। दक्षिण एसियाको आर्थिक वृद्धिदर भने ५.८ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ।

नेपालको बाह्य प्रतिस्पर्धात्मकता बढाउन सहयोगी हुनसक्ने विभिन्न पक्षहरूको पनि खोजी गरेको छ । वर्ष २०२३ मा राष्ट्रको कुल गार्हस्थ्य उत्पादनको ६.९ प्रतिशत मात्रै कूल निर्यात रहेको थियो जुन दक्षिण एसियाका मध्यम आय भएका देशहरूको औसतको एक तिहाइ मात्रै हो । विश्लेषणले नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको उल्लेख गरेको छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।

प्रकाशित मिति : October 3, 2023 at 2:29 pm