३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्न सरकारकाे निर्देशन

१४ असोज, काठमाडौं ।  नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्न आयल निगमलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“प्रधानमन्त्रीले नेपाल आयल निगमलाई आजै मूल्यवृद्धिको निर्णय फिर्ता गर्न निर्देशन दिनुभएको छ”, प्रवक्ता शर्माले भनिन्, “निगम स्वचालित मूल्य प्रणालीमा गए पनि चाडबाडको समयमा मूल्यवृद्धिले जनतालाई समस्यामा पार्ने विषयलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।” उनले निगमले साविककै मूल्य कायम गर्दै आजै सूचना निकाल्ने समेत जानकारी दिइन् ।

 निगमले शनिबार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियाे । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।

चाडबाडको मुखैमा पेट्रोलिय पदार्थमा मूल्यवृद्धि गरेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो । आलोचना भएपछि सरकारले मूल्यवृद्धि फिर्ता गरेको हो ।

प्रकाशित मिति : 13:44