२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

भोटखोलामा विद्युत्को राष्ट्रिय प्रसारणलाइन जोडियो

१३ असोज,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् बालिएको हो । दुर्गम गाउँमा विद्युत् पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । योसँगै जिल्लाका १० वटै स्थानीय तहमा राष्ट्रिय प्रसारणलाइन पुगेको छ । विद्युत् प्रसारण लाइन पुगेपछि भोटखोला–४ र ५ नम्बर वडाका करिब ७० घर लाभान्वित भएका नेपाल विद्युत् प्राधिकरण सङ्खुवासभाका प्रमुख सञ्जीव कर्णले बताए ।

गाउँपालिकाको केन्द्र गोला बजारमा अहिले ५० केभिएको ट्रान्सफर्मर राखेर बत्ती बाल्न सफल भएको उनको भनाइ थियो । निकै लामो सङ्घर्षपछि भोटखोलामा बिजुली बाल्न सफल भएको कर्णले बताए । उनका अनुसार सुगम र दुर्गम सबै ठाउँमा राष्ट्रियस्तरका विद्युतीकरण पु¥याउने लक्ष्यअनुसार भोटखोलामा राष्ट्रिय प्रसारणलाइन जोडिएको हो ।

जिल्लाको मकालु र सिलिचोङ गाउँपालिकाको केन्द्रसम्म विद्युतीकरण भए पनि वडा र गाउँस्तरसम्म भने विस्तार हुन बाँकी रहेको विद्युत् प्राधिकरणले जनाएको छ । खाँदबारी, चैनपुर, मादी, पाँचखपन र धर्मदेवी नगरपालिकाका साथै सभापोखरी र चिचिला गाउँपालिकामा राष्ट्रिय लाइनको विद्युतीकरण विस्तार भएको छ । सङ्खुवासभामा हाल विभिन्न आयोजनाबाट २२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार १५:२०