२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित

१३ असोज, वीरगञ्ज । लामो समयदेखि दरबन्दीअनुसारको कर्मचारी पदपूर्ति नहुँदा कृषि ज्ञान केन्द्र वीरगञ्ज पर्साको कामकाज प्रभावित हुँदै आएको छ । कर्मचारी नहुदाँ सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समस्या हुँदै आएको कार्यालय प्रमुख मुनिलाल कुशवाहाले जानकारी दिए । प्रदेश सरकार मातहत रहेको सो कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी भए पनि हाल दुई जना प्राविधिक जनशक्तिसहित चार जना कर्मचारी मात्र कार्यरत छन् । कार्यालयमा एक जना वरिष्ठ कृषि विकास अधिकृत, एक जना अर्थविज्ञ, एक जना बाली विकास अधिकृत, एक जना बाली संरक्षण अधिकृत, एक जना कृषि प्रसार अधिकृत र एक जना बागवानी विकास अधिकृतको दरबन्दी भए पनि हाल वरिष्ठ कृषि विकास अधिकृतको रुपमा कार्यालय प्रमुख कुशवाहा मात्र कार्यरत रहेका छन् ।

यस्तै सो कार्यालयमा प्राविधिक सहायक तीन , लेखापाल एक , खरिदार एक, कार्यालय सहयोगी तीन र हलुका सवारी चालक एकजनाको दरबन्दी रहेकोमा स्थायी एक जना र करारमा एक जना गरी दुई जना कार्यालय सहयोगी मात्र कार्यरत रहेको कार्यालय प्रमुख कुशवाहाले बताए । एक जना हलुका सवारी चालकलाई करारमा राखिएको छ । कार्यालयमा तत्काल बाली संरक्षण, योजना, बागवानी विकास अधिकृतको पदपूर्ति आवश्यक भएको उनले बताए । ती पदको कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न र आवश्यक कृषिसम्बन्धी परामर्श दिन समस्या भएको कार्यालय प्रमुख कुशवाहाको भनाइ छ ।

जिल्लाका कतिपय क्षेत्रमा धानबालीमा गवारो किराको प्रकोप देखिए पनि कर्मचारी अभावका कारणसम्बन्धी क्षेत्रमा पुगेर आवश्यक परामर्श सेवा पु¥याउन कठिनाइ भएको उनले बताए । यस्तै कार्यालयमा लेखापाल नहुँदा आर्थिक कारोबार गर्न समस्या भइरहेको र समय समयमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट लेखापाल बोलाएर काम गर्ने गरेको उनको गुनासो छ । त्यस्तै बाली संरक्षण अधिकृत नहुँदा विषादी पसल खोल्न इजाजत दिने एवं त्यस्ता पसलको नवीकरण गर्ने काम अवरुद्ध भएको प्रमुख कुशवाहाले बताए । सीमित जनशक्तिका बाबजुत कार्यालयको कामसँगै धानबालीमा देखिएको रोग किराको समस्या नियन्त्रण गर्न किसानको खेतखेतमा पुगिरहेको उनको भनाइ छ । कार्यालयमा देखिएको जनशक्ति अभावबारे प्रदेश मन्त्रालय तथा कृषि निर्देशनालयमा पटकपटक जानकारी गराएर कर्मचारी माग गरे पनि हालसम्म पदपूर्ति नभएको उनले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार १०:०९