३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

कृषि क्षेत्रका अनुसन्धान स्थानीय तहमा पु¥याउनुपर्छ : अध्यक्ष डा तिमल्सिना

१० असोज, पाटन (ललितपुर) । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले कृषि क्षेत्रमा भएका अनुसन्धानलाई स्थानीय तहमा पुर्‍याउन आग्रह गरेका छन् । आत्मनिर्भर अर्थतन्त्र निर्माणका विषयमा राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क)बीच भएको अन्तरक्रियामा आयोगका अध्यक्ष डा तिमल्सिनाले कृषि क्षेत्रमा भइरहेका नीति नियमलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भन्ने कुरामा ध्यान दिन आग्रह गरे । उनले राष्ट्रिय कृषि अनुसन्धान परिषदलाई न्यून लगानीका आयोजना, दीर्घकालीन परियोजना तय गर्न आग्रह गरे ।

कृषि विषयलाई पाठ्यक्रममा राख्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गर्न आग्रह गरे । राष्ट्रिय समावेशी आयोगकी सदस्य बिष्णुमाया ओझाले देशलाई निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउँदै जानुपर्नेमा जोड दिए । “कृषि क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्नुपर्छ । नीति निर्माणका लागि राष्ट्रिय तहमा समन्वय गरेर पहल गर्नुपर्ने छ । निर्यातको सम्भावना भएका कफी, चियालगायतका उपजलाई प्राथमिकता दिनु आवश्यक छ”, उनले भने ।

राष्ट्रिय कृषि अनुसन्धान परिषद कायम मुकायम कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराईले अहिले देशमा ७२ लाख मेट्रिक टन धान आवश्यक भएकोमा ५६ लाख मेट्रिक टन मात्रै उत्पादन भएकाले करिब १७ लाख टन आयात गर्नुपरेको वताए । उनले चैते धान उत्पादनमा जोड दिने गरी बजेट बिनियोजन गर्न सुझाव दिनुभयो । कृषि क्षेत्रको विकास गर्न पालिकालाई सूचना, प्रविधि र नवप्रवर्तनसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ छ ।

भट्टराईले हाल नार्कले उत्पादन गरेको ४० जातका धान प्रचलनमा रहेको भन्दै उद्यमी किसान र बेरोजगार युवालाई आवासीय तालिमको व्यवस्था गरिरहेको बताए । नार्कका योजना तथा समन्वय निर्देशक डा लुमानिधी पाण्डेले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्न विशेष पहिचान भएको उत्पादनलाई ध्यान दिनुपर्नेमा जोड दिए । “मासु, अण्डा र दुधमा आत्मनिर्भर भइसकेका छौँ, तर दाना उद्योगका लागि कच्चा पदार्थ हामीसँग छैन । यो कुरामा पनि ध्यान दिनु आवश्यक छ”, उनले भने ।

प्रकाशित मिति : September 28, 2023 at 12:02 pm