२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त

९ असोज, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्याय नियुक्त हुनुभएको छ । सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उपाध्यायलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए । डोटी जिल्लाको बोगटानफुटशिल गाउँपालिको खत्याडी गाउँ स्थायी ठेगाना भई हाल कैलालीको दुर्गौलीमा बसोबास गर्ने नवनियुक्त उपाध्यक्ष उपाध्यायसँग ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयमा बसेर काम गरेको अनुभव छ ।

नेपाल विद्युत् प्राधिकरणको पूर्वअध्यक्षसमेत रहेका उनले सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत काम गरेका थिए । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शाहीले नवनियुक्त उपाध्यक्ष उपाध्याय ऊर्जा, जलस्रोत इलेक्ट्रिकल इन्जिनियरिङलगायत क्षेत्रमा अनुभवी व्यक्ति हुनुभएको बताए । हालसम्म आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १७:३४