२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

छोङछिङमा प्रधानमन्त्री भेटवार्ता

९ असोज, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाल आज चिनियाँ सहर छोङछिङ पुग्नुभएको हो । आज छोङछिङ महानगरपालिकामा उनले सो भेटवार्ता गरेका हुन् । वार्तामा द्विपक्षीय हित र आपसी सहयोग एवं समझदारीका विषयमा कुराकानी भएको थियो ।

यसअघि आज छोङछिङ पुग्दा उनलाई सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरेका थिए । आजै प्रधानमन्त्री दाहालले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गरेका छन् । सो एकेडेमीमा कृषि उत्पादनको आधुनिक प्रयोग एवं उत्पादनको अवलोकन गरी जानकारी लिनुभएको थियो । उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि थिए । उनी आज छोङछिङमा नै रहनुहुने कार्यक्रम छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १७:०४