२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषबाट चार संस्था पुरस्कृत

६ असोज, काठमाडौँ । रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषबाट सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत भएका छन् । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कर कोषको आयोजनामा आज नेपाल प्रज्ञा भवनमा आयोजना गरिएको नवौँ पुरस्कार तथा सम्मान अर्पण समारोह कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्थालाई पुरस्कृत गरिएको हो । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्र नगर नगरपालिका–३ सुर्खेतलाई दिइएको छ ।

यो पुरस्कारको राशि रु दुई लाख नगद र सम्मानपत्र रहेको छ । सो संस्थाले वृद्धवृद्धालाई आश्रय, भोजन प्रदान गर्नुका साथै स्वास्थ्योपचार दिँंदै आएको जनाएको छ । रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश्वर नगरपालिका–७ काठमाडौँमा अवस्थित संस्थालाई प्रदान गरिएको छ । यो संस्थाले समाजका असहाय वर्गको उद्धार गरी संरक्षणका लागि आश्रय प्रदान गर्दै आइरहेको जनाइएको छ । यो पुरस्कारको राशि भने रु एक लाख नगद र सम्मानपत्र रहेको छ । यसैगरी रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट दृष्टि फाउन्डेशन नेपाल धनगढी उपमहानगरपालिका–१ कैलालीलाई प्रदान गरिएको छ ।

यो संस्थाले असहायहरूको उद्धार र संरक्षण गरी आश्रय, भोजन र स्वास्थ्योपचार सुविधा प्रदान गराउनुका साथै परिवारसँग पुनःस्थापना गराउँदै आइरहेको भन्दै सम्मान गरिएको हो । यो पुरस्कारको राशि पनि रु एक लाख नगद र सम्मानपत्र रहेको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिए । त्यसैगरी रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार मातृ नेपाल अपाङ्ग सङ्घद्वारा सञ्चालित बालगृह, ठूलागाउँ तारकेश्वर नगरपालिका–३ लाई दिने निर्णय भएको छ । यो संस्थाले बालबालिकालाई आश्रय प्रदान गर्नुका साथै शिक्षादीक्षाको प्रबन्ध गरी सक्षम र सबल नागरिक बनाउन योगदान गर्नुका साथै संस्थागत दिगोपनातर्फ पनि उपयुक्त कदम चालेको भन्दै रु एक लाख नगद र सम्मानपत्रसहित सम्मान गर्न लागिएको हो ।

कोषको आज काठमाडौँमा सम्पन्न साधारणसभाले यस वर्ष सामाजिक सेवा पुरस्कारबाट विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषका अध्यक्ष धु्रव नेपालले कोषको गत शनिबार बसेको साधारणसभाले सामाजिक क्षेत्रका सक्रिय रहेका चारवटा संस्थालाई पुरस्कृत गर्ने निर्णय भएको बताए । उनले पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनोट गर्नका लागि पाँच जना संलग्न एक छनोट समिति गठन गरेर छनोट गरिएको जानकारी दिए ।

“समितिले सूचना सङ्कलन गरी स्थलगत भ्रमणसमेत गरी निश्चित मापदण्डका आधारमा उत्कृष्ट प्रतिभाको सिफारिस गर्दछ”, उनले भने, “कोषले प्रत्येक वर्ष रु चार लाख नगद राशि हुने गरी रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार एक संस्थालाई तथा रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार दुई संस्था वा व्यक्तिलाई प्रदान गर्दै आइरहेकामा कोष एक दशक पुगेको अवसरमा अतिरिक्त एक रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।”

रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोष स्वयंसेवाको भावनाले नेपालीहरूको हितमा उदाहरणीय योगदान गरेका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने तथा सामाजिक सेवाको विकासमा सहयोग पुर्याउने उद्देश्यले एक अक्षयकोष खडा गरी रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्य स्मरणमा २०७० सालमा स्थापना गरिएको हो । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि रु दुई लाखको पुरस्कार र सम्मानपत्र प्रदान गर्दै आएकामा २०७४ देखि रु चार लाखको पुरस्कार र सम्मानपत्र प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : September 23, 2023 at 7:30 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/