१ असार २०८३, सोमबार | Mon Jun 15 2026

आगलागीमा एक करोडको क्षति, विभिन्न ठाउँमा चोरी

६ असोज, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ । गए राति विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब रु ९३ लाख २० हजार बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए । यसैगरी गए राति नै काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा करिब रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

३८ लाख बढी चोरी प्रहरीका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ डाँडागाउँ डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका–३३ घर भएकी ३५ वर्षीया देवी पुनको कोठाबाट नगदसहित गरगहना चोरी भएको छ । कोठामा कोही नभएको अवस्थामा ताला फुटाइ सुनका गरगहना र नगदसमेत गरी करिब रु एक लाख १४ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

यस्तै चन्द्रागिरि–१४ नैकाप प्रगति सङ्गम टोल बस्ने सुजित श्रेष्ठको घरबाट विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना, विदेशी मुद्रा, नेपाली रुपैयाँसमेत गरी करिब रु ३७ लाख ४५ हजार एक सय ५० बराबरको धनमाल चोरी भएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : September 23, 2023 at 7:11 pm