२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

६ असोज, काठमाडौँ । पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान धरानले आफ्नो बाह्रौँ वाषिकोत्सवका अवसरमा भाषासाहित्यको माध्यमबाट समाजमा योगदान गर्नुभएका विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल र प्राडा दयाराम श्रेष्ठ ‘सम्भव’लाई रू २१ हजार राशिको वाङ्मय पुरस्कार प्रदान गरियो । भाषाविद् प्राडा माधवप्रसाद पोखरेलले उनीलाई ती पुरस्कार प्रदान गरेका छन् ।

उनले रू २१ हजार राशिकै साहित्यकार प्रभा भट्टराईलाई हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार तथा कुशेश्वर गुरुकुलम् रामेछापलाई कमलापति डम्बरकुमारी वाङ्मय पुरस्कार प्रदान गरेका छन् । सोही कार्यक्रममा पिण्डेश्वर विद्यापीठ धरानका दुई जना छात्रलाई रू १५ हजार राशिको मेधावी पुरस्कार प्रदान गरियो । कार्यक्रममा प्रतिष्ठानका संस्थापक प्राध्यापक नारायणप्रसाद कट्टेलद्वारा लिखित ‘जीवन तरङ्ग’ काव्यको विमोचन गरिएको थियो । सम्मानित व्यक्तित्वबारे प्राडा सनतकुमार वस्ती र प्रा कोषराज न्यौपानेले चर्चा गर्नुभएको थियो भने विमोचित कृतिको समीक्षा भाषाविद् शरच्चन्द्र वस्तीले गरेका थिए।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार १६:२२