२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भयो दुई समितिको बैठक

४ असोज, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् ।नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरु समयमै सिंहदरबार पुग्न नसक्दा दुई वटै समितिको बैठक प्रभावित भएको हो । बिहान ११ बजे बोलाइएका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक सङ्ख्या नपुग्दा स्थगित भएका हुन् ।

अर्थसमितिका सभापति सन्तोष चालिसेले गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित गरिएको जानकारी बताए । कतिपय सांसद जिल्ला बाहिर पनि रहेकाले सबैको समय मिलाएर छिट्टै अर्को बैठक बोलाइने उनको भनाइ छ ।

अर्थ समितिको आजको बैठकमा समितिको कार्यविधि मस्यौदा र विविध विषयमाथिको छलफल गर्ने कार्यसूची थियो ।समितिमा कूल २४ जना सांसद रहेकामा गणपूरक सङ्ख्याका लागि १३ जना सांसद हुनुपर्ने थियो तर ११ जना सांसद मात्र बैठकमा उपस्थित हुनुहुन्थ्यो । प्रतिनिधिसभा नियमावलीअनुसार आधा घण्टासम्म गणपूरक सङ्ख्या नपुगेमा बैठक स्थगित गर्ने व्यवस्था छ ।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको छ । समितिमा २७ जना सदस्य रहेका छन् । बैठक बस्न १४ जना सांसद उपस्थित हुनुपर्नेमा १२ जनामात्र उपस्थित भएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १६:११