सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने तयारीमा राष्ट्र बैंक
३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउने भएको छ । मंगलबार भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलपछि राष्ट्र बैंक सेयर धितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउन तयार भएको छलफलमा सहभागी एक अधिकारीले बताए ।
हाल सेयर धितो कर्जामा लगाइएको १२ करोडको सिमा हटाउन केन्द्रीय बैंकलाई चौतर्फी दबाब आएको छ । लगानीकर्ताले सेयर धितो कर्जामा कुनै पनि सीमा निर्धारण नगर्न अनुराेध गरिरहेका छन् ।
चौतर्फी दबाबका कारण अर्थमन्त्रीले पटकपटक गभर्नरलाई १२ करोडको सीमा हटाउन अनुरोध गर्दै आएपनि गभर्नरले यस बिषयमा सहमति जनाएका थिएनन् । तर पछिल्लाे छलफलहरुमा भने अर्थमन्त्री महतले १२ करोडको सीमा हटाउन प्रस्ताव गरेपछि गभर्नर याे बिषयमा सकारात्मक देखिएकाे स्राेतले जनाएकाे छ । १२ करोडको सेयर धितो कर्जाको क्याप हटाएर पूँजीबजार चलायमान हुन्छ भने त्यसका लागि आफू तयार रहेको संकेत गभर्नरले दिएकाे बताइएकाे छ ।
सेयर धितो कर्जामा गरिएको कडाइका कारण बजारमा पैसा आउन नसकेको र त्यसले बजारमा माग सिर्जना गर्न नसकेको विष्लेषण हुँदै आएको छ। जसले गर्दा नेप्से सूचक ३२०० विन्दुबाट घटेर १८०० विन्दुसम्म पुगेकाे छ। गत दुई वर्षमा सेयर बजारबाट लगानीकर्ताले करिब १६ खर्ब रुपैयाँ गुमाएका छन्।
अर्थमन्त्री महत मात्र होइन लगानीकर्ताहरुले पनि १२ करोडको सिमा हटाउन आग्रह गरिरहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पनि सेयर बजार सुधारका लागि १२ करोडका क्याप खारेजी र जोखिमभार घटाउने लगायतका बिषयमा चासाे राख्दै गभर्नर अधिकारीलाई भेटेका थिए । सबैतिरबाट दबाब बढेपछि गभर्नर अधिकारी पनि सेयर धितो कर्जाको सिमा हटाउन सहमत देखिएको बुझिएको छ। तर मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षासम्म पर्खने वा अहिले नै १२ करोडको सीमा हटाउने भन्ने विषयमा भने राष्ट्र बैंकमा छलफल नभएकाे बताइएकाे छ । केन्द्रीय बैंकले १२ करोडको क्यापलाई कहिलबाट संशोधन गर्छ भन्ने कुनै जानकारी भने दिइएको छैन ।
प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १६:५४












