अपर तामाकोशी र अरुण काबेलीको हकप्रदमा कति पर्याे आवेदन ? यस्तो छ पछिल्लो अपडेट
२७ भदाै, काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा १ अर्ब ३२ करोड १२ लाख १ हजार ९०० रुपैयाँको आवेदन परेको छ । कम्पनीले भदाै १८ गतेदेखि निष्काशन गरेकाे हकप्रद सेयरमा आज भदाै २७ गते बिहान १०ः०६ बजेसम्ममा १ लाख ३४ हजार ८५ जना सेयरधनीले १ करोड ३२ लाख १२ हजार १९ कित्ता हकप्रद सेयरमा आवेदन दिएका छन् । कम्पनीकाे अझै ९ करोड २६ लाख ८७ हजार ९८१ कित्ता हकप्रद सेयरमा आवेदन पर्न बाँकी रहेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेकाे हाे । कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।
कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि गत साउन २६ गते बुकक्लोजको मिति तोकेको थियो । यसको अर्थ साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
त्यस्तै, अरुण काबेली पावरको हकप्रद सेयरमा ७३ करोड ६३ लाख ७ हजार ४०० रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार कम्पनीकाे हकप्रदमा आज (भदौ २७ गते) बिहान १०ः०६ बजेसम्ममा ६३ हजार ४३८ जना सेयरधनीले ७३ लाख ६३ हजार ७४ कित्ता हकप्रद सेयरमा आवेदन दिएका छन् । कम्पनीकाे अझै १ करोड ११ लाख ८९ हजार ३१ कित्ता हकप्रद सेयरमा पर्न बाँकी रहेको छ ।
कम्पनीले भदौ ११ गतेदेखि चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको छ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीकाे हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
सेयरधनीहरुले उक्त हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।
प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १३:३६












