७ असार २०८३, आइतबार | Sun Jun 21 2026

भन्सार छलि अवैध रुपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ

२६ भदौ, काठमाडौँ । भन्सार छलि लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका–३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले राससलाई जानकारी दिए ।

उनका अनुसार हिमालयन एयरलाइन्सद्वारा दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौँ महानगरपलिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको सुनसहित तत्काल फेला पारी पक्राउ गरेको थियो ।

यसैगरी उक्त विषयमा थप सोधुपछ एवं अनुसन्धानको क्रममा काभ्रे, रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा, काभ्रे महाभारत गाउँपालिका–३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तानलाई काठमाडौँ महानगरपालिका–१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०१–२७ च ९९६० नम्बरको गाडी र बागमती प्रदेश ०२–०३० प ८५१७ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

प्रकाशित मिति : September 12, 2023 at 7:59 pm