७ असार २०८३, आइतबार | Sun Jun 21 2026

२६ भदौ, काठमाडौँ । नेपाली सेनाको २०७९ साल मङ्सिर १ गतेदेखि ४१ स्थानमा सञ्चालित सैन्य आधार तालिम सोमबार समापन भएको छ । तालिम समापनका अवसरमा सैन्य जवानले बेग्लाबेग्लै तालिम केन्द्रमा अन्तिम दलले कवाज प्रदर्शन गर्नुभएको सैन्य जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । देशभर तीन हजार दुई ८८ जना पुरुष तथा छ सय २८ जना महिला गरी कूल तीन हजार नौ सय १६ जना सैन्य दीक्षित भएका छन् । श्री नं १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी सरोज प्रताप राणा र श्री नं २ सैन्य तालिम केन्द्र, सैनामैनामा श्री सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा अन्य स्थानमा सम्बन्धित पृतनापति, बाहिनीपतिले कवाज निरीक्षण गर्नुका साथै सम्बोधन तथा उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गरेका छन् ।

तालिमरत शिक्षार्थीको परिवारजनको उपस्थितिमा तालिमको समापन कार्यक्रम सञ्चालन भएको थियो । श्री नं १ सैन्य तालिम केन्द्रमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै बलाधिकृत रथी सरोज प्रताप राणाले नेपाली सेनाजस्तो गरिमामय संस्थामा सिपाही दर्जामा नियुक्त भए सुखद् घडीमा तालिम प्राप्त सिपाहीलाई बधाई दिए । साथै उनले राष्ट्र, जनता र संस्थाप्रति समर्पित रहँदै कर्मठ, बफादार, इमान्दार, अनुशासित एवं नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालना गर्न तथा जस्तोसुकै विषम् परिस्थितिमा समेत विचलित नभई आफ्नो कर्तव्यपथमा अडिग रहन निर्देशन दिए ।

यसअघि यही भदौ २४ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माले आफ्नो जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्ने क्रममा तालिम सम्पन्न गर्ने सैन्यलाई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही हुन लागेकोमा बधाई दिए थियो साथै उहाँले सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : September 12, 2023 at 7:50 pm