अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ, अब गाडीको व्यापार बढ्छः अर्थमन्त्री महत
२६ भदाै, काठमाडाैं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिइरहको बताएका छन् । मंगलबारदेखि भृकुटीमण्डपमा सञ्चालन भएको १५ औं संस्करण ‘नाडा अटो शो २०२३’ को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा समस्या भएकाे तर सुधारको संकेत देखिइरहको बताउदै उनले अब गाडीको व्यापार बढ्ने बताए ।
उनले भने, ‘अर्थतन्त्रमा समस्या छ तर सुधारको संकेत देखिइरहको छ । अब अर्थतन्त्रका समस्या चाँडै हल हुन्छन्, आर्थिक गतिविधि विस्तारै बढ्दै जाने ठोस संकेत देखिएको छ, विदेशी विनिमय सञ्चिति बढेकाे छ, पर्यटन क्षेत्र अब अगाडि बढ्छ, जग्गा कित्ताकाट खुलेको छ, विस्तारै अब जग्गाको किनबेच बढ्छ, अटो क्षेत्रका समस्या पनि समाधान हुँदै गएका छन्, अब अटो क्षेत्र पनि चलायमान हुन्छ, आयात पनि बढ्न थालेको छ, निर्यात पनि विस्तारै बढाउँदै जाने छौं ।’
उनले सेयर मार्केटमा समस्या आएकोले यसलाई सेफ ल्यान्डिङ गर्न जरुरी रहेको बताए । सरकारले ईभीलाई पनि प्राथमिकता दिएको बताउँदै उनले ईभीमा लागेको कर पनि धेरै नबढ्ने बताए । पहिला गाडी लक्जरीको साधन भएकाले कर धेरै लगाएको र यसले कर बढी आएको भएर दर नघटेको हुन सक्ने उनको भनाइ छ ।
प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १७:०४