१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

श्रममन्त्रीद्वारा अनाथालयलाई एक लाख ११ हजार दान

२० भदौ, गोदावरी(ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले गोदावरी मामाघर अनाथालय आश्रमलाई रु एक लाख ११ हजार दान गरेका छन् । आश्रमले आजदेखि सुरु गरेको विराट ज्ञान महायज्ञको उद्घाटन गर्ने क्रममा उहाँले आफ्नी स्वर्गीय आमाको नाममा अनाथालयलाई सो रकम दान गरेका छन् । गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद्भागवत विराट ज्ञान महायज्ञका अवसरमा अनाथालयलाई दान गर्न पाएको भन्दै मन्त्री भण्डारीले खुसी व्यक्त गरेका छन्। मामाघर अनाथालय आश्रमको आयोजनामा गोदावरी–१४ बाँडेगाउँमा भदौ २० देखि ३० गतेसम्मका लागि महायज्ञ सुरु भएको हो ।

आजदेखि प्रसिद्ध कथा वाचक गरीमा उपाध्यय र उमा महेश्वरीबाट कथा वाचन हुनेछ । महायज्ञको उद्देश्य देशभरका अनाथ बालबालिकाका लागि नेपालकै नमूना सुविधायुक्त तथा आधुनिक आश्रम बनाउने रहेको आश्रमका प्रमुख बालयोगेश्वर विजयमुर्ती महाराजले जानकारी दिए। गोदावरी वडा ३ का अध्यक्ष सानुराज घिमिरेले महायज्ञमा हजारौँको सङ्ख्यामा भक्तजन गोदावरीमा आउने भएकाले महायज्ञको आयोजनाबाट गोदावरीको पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : 20:06