१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

कृष्ण जन्माष्टमीमा ‘मड्का फुटाउने’ प्रतियोगिता

२० भदौ, काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौँको सामाखुशीमा ‘मड्का फुटाउने’प्रतियोगिता आयोजना गरिएको छ । सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा आज काठमाडौँ महानगरपालिका–२६ कपुरधारास्थित चिल्ड्रेन पार्कमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०५६ देखि हरेक वर्ष मनाउँदै आइएको उक्त प्रतियोगितामा निलो रिबन लगाउने टोली प्रथम भएको क्लबका अध्यक्ष दीपेन्द्र केसीले राससलाई जानकारी दिए । उनका अनुसार प्रतियोगितामा रातो र निलो रिबन लगाउने दुई समूहको सहभागिता थियो । “पार्क नजिकै सडकको माथि डोरीमा माटोको मड्कामा दही राखेर झुण्ड्याइने र प्रतियोगीले उक्त मड्का फुटाउने चलन रहँदै आएको छ”, केसीले भनेका छन् ।

उनका अनुसार मड्का निकै माथि डोरोमा झुण्ड्याइने भएकाले मानिसमाथि मानिस चढेर फुटाउने गरिन्छ । यसवर्ष ११ पटकको प्रयासपछि उक्त मड्का फुटाइएको हो । प्रतियोगिताका विजेता टोलीले रू २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उक्त रकम क्लबका अध्यक्ष केसीले प्रथम विजेता टोलीलाई हस्तान्तरण गरेका छन् । आजै साना बालबालिकाका लागि घैंँटो फुटाइ कार्यक्रमसमेत चिल्ड्रेन पार्कमै आयोजना गरिएको थियो । घैँटो फुटाइ कार्यक्रममा विजेता बालबालिकालाई जनही रू एक हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १५:३४