८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नेपाली क्रिकेट टोलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

१९ भदौ, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले एसिया कपको आफनो पहिलो सहभागितामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै खेलाडी, प्रशिक्षक एवम् नेपाल क्रिकेट सङ्घ (क्यान)लाई बधाई दिएकी छिन् ।

पाकिस्तान र श्रीलङ्कामा भएको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विश्व वरियतामा शीर्ष स्थानमा रहेका पाकिस्तान र भारतजस्ता बलिया टोलीसँग उत्कृष्ट खेल प्रदर्शन गर्दै विश्व क्रिकेटप्रेमीको मन जित्न सफल भएकोमा पूर्वराष्ट्रपति भण्डारीले बधाई दिएकी हुन् । उनले यस किसिमको उत्कृष्ट खेल प्रदर्शनले नेपालको क्रिकेट खेलको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गर्दै क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सकेमात्र क्रिकेट खेलले थप व्यावसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्न सक्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाले क्रिकेटलगायत समग्र नेपाली खेलकुदको विकासमा थप लगानी गर्न आवश्यक रहेको बताइन् । एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तान र भारतसँग पराजित भए पनि नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले मलेसियामा जारी आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाली महिला टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेकामा बधाई दिँदै थप सफलताको कामना गरेकी छिन् । उक्त प्रतियोगितामा नेपाल लगातार चौथो जित निकाल्दै सेमिफाइनल पुगेको छ । उक्त प्रतियोगितामा समूह ‘ए’ मा रहेको नेपालले कतारलाई नौ विकेट, घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ ।

प्रकाशित मिति : September 5, 2023 at 4:19 pm