१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव

१७ भदाै, काठमाडाैं । भदौं १६ गते फाउण्डेसन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिजले काठमाडौंमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालको लागि चिनियाँ राजदूत छन् सोङ्ले नेपालमा चीन सरकारले बनाइदिएको ड्राई पोर्ट र बन्दरगाहबाट नेपालले लाभ लिन नसक्नु दुख:द भएको बताएका छन् । कुनैपनि मुलुक आत्मनिर्भर हुन स्वयंमले वस्तु तथा सेवाहरु उत्पादन गर्नुपर्नेमा नेपालले अझैसम्म पनि कृषि क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो पोखे ।

राजदूत सोङ्ले भने, “नेपालको आफ्नै निर्यातजन्य वस्तुनभएकाले चीनले बनाईदिएको ड्राई पोर्ट र बन्दरगाह प्रयोग गर्न दिएको सुबिधाबाट नेपालले लाभ लिन सकेन् ।”

उनले नेपालको उन्नति र प्रगतिमा कायापलट गर्ने क्षेत्र कृषि भएकाले गुणस्तर कृषिजन्य सामाग्री उत्पादन भए चीनले जति पनि खरिद गर्न सक्ने बताए । उनले चीनको आर्थिक बिकास खुल्लापन र बजार अर्थतन्त्रबाट भएको भनाईमा असहमति जनाउँदै दुई दशक चलेको राजनीतिक ,आर्थिक र सामाजिक ब्यवस्थाले चिनियाँ अर्थतन्त्रको मजवुत जग खडा भएपछि अपनाईएको खुलापनको नीतिबाट मात्र लाभ लिन सकिएको बताए ।

सोहि कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियतालाई प्राथमिकतामा राख्दै विदेशी सहयोगहरुलाई जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सभामुख घिमिरेले एमसीसी, बीआरआई लगायतका कार्यक्रमलाई राष्ट्रिय प्राथमिकतामा राख्दै जनताको हितमा कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । उनले चीन र भारतको आर्थिक प्रगतिबाट फाइदा लिने क्रममा नेपाललाई अवसर र चुनौंती दुवै रहेको बताए।

सभामुख घिमिरेले चीन र भारतको प्रभावलाई सन्तुलित ढंगले कायम राख्दै र राष्ट्रियतालाई मजबुत बनाउदै नेपाली जनताको आत्मनिर्भरताका लागि अघि बढाउन कस्तो बाटो लिने भन्नेबारे बहस हुनुपर्ने जिकिर गरे । मुलकमा राजनीतिक परिवर्तन आएपनि कृषि वस्तुमा बाह्य निर्भर हुनुपर्ने, दक्ष जनशक्ति बाहिरिनुपर्ने अवस्था, उद्योगधन्दाहरु बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्न गम्भीर भएर सोच्नुपर्ने उनले बताए । सभामुख घिमिरेले मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन मावनस्रोत, प्राकृतिक स्रोत साधनको उपयोगलाई ध्यान दिनुपर्ने धारणा राखे ।

कार्यक्रमको अध्यक्षता पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले गर्नु भएको थियो भने कार्यक्रममा चीनका लागि नेपालको पूर्वराजदूत महेन्द्र बहादुर पाण्डे, डा.भरत पोखरेल, डा. कल्याण रोक्का, पूर्वपरराष्ट्रमन्त्री डा. बिमला राई पौडेल र सार्वजनिक लेखा समितिका सभापति माननीय ऋषि पोखरेल, बागमती प्रदेशको उपसभामुख माननीय अप्सरा चापागाईं लगायतले आ-आफ्ना धारणा ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १२:२१