१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सेजनको अध्यक्षमा सुजन वली विजयी, प्रेस युनियनको संस्थापन लाइन बजारियो

१७ भदाै, काठमाडाैँ । आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन वली विजयी भएका छन । नेपाल प्रेस युनियनको संस्थापन पक्षले समर्थन गरेका शिरोमणि ढुंगानालाई तीन मतान्तरमा हराउँदै वली अध्यक्षमा विजयी भएका हुन । वलीले ९९ मत प्राप्त गर्दा ढुंगानाले ९६ मत प्राप्त गरे भने अध्यक्षका अर्का प्रत्यासी सरस्वती ढकालले ५६ मत प्राप्त गरिन ।

अध्यक्षमा विजयी वली पनि युनियनकै सदस्य हुन । वलीले विजयी भएपछि सेजन आर्थिक पत्रकारितामा सक्रिय पत्रकारको अभिभावक बनेर अघि बढ्ने प्रतिक्रिया दिएका छन । उनले भनेका छन, ‘प्रकियाबाट नेतृत्व छान्नु पर्ने भएकाले साथीहरूबीच स्वस्थ प्रतिस्पर्धा भयो, सभाले नेतृत्व पनि छानेको छ। तर, सेजनमा आवद्ध २७१ जना साथीलाई सँगसँगै लैजाने मात्रै होइन, भर्खर आर्थिक पत्रकारितामा सक्रिय बन्दै गरेका साथीको समेत सेजन अभिभावक बन्छ, हाम्रो कार्यसमितिले बनाउने छ। मसँगै चुनावी मैदानमा रहनु भएका साथीहरु मात्रै होइन, उहाँहरुलाई सम्मान पूर्वक मत दिनु हुने साथीलाई एकै ठाउँमा ल्याएर सँगै हिँड्ने प्रण गर्छ।’

त्यस्तै उपाध्यक्षमा विनय बन्जारा विजयी भएका छन । बन्जाराले १३५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भागतव भट्टराईले ११५ मत प्राप्त गरे । महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध भएका थिए। त्यस्तै सचिवमा सोभित थपलिया १०६ मतसहित विजयी भए । थपलियाका प्रतिस्पर्धी मुना कुँवर ७९ र रञ्जु काफ्ले ६४ मत प्राप्त गरिन । कोषाध्यक्षमा अच्युत पुरी विजयी भए । उनले १६० मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी कमला अर्यालले ८५ मत प्राप्त गरिन । चुनावमा सबैभन्दा लोकप्रिय मत पाउनेमा कोषाध्यक्षमा विजयी पुरी भए । उनले सर्वाधिक १६० मत प्राप्त गरे ।

त्यसैगरी सदस्यमा हेमन्तराज जोशी, वसन्तराज उप्रेती, ममता थापा, केशु लामिछाने र छवि सापकोटा विजयी भए । निर्वाचनमा कूल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो । सेजन नेपाली कांग्रेसको भ्रातृ संस्था जस्तै बन्न पुग्यो भनेर नकारात्मक टिप्पणी गर्नेहरूको मुख बन्द गराउने गरी नवनिर्वाचित कार्यसमितिले काम गर्ने विश्वास कतिपय विजयीले गरेका छन । यद्यपी त्यसका लागि प्रतिक्षा गर्नुको विकल्प छैन ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार ११:१४