१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

धुलियाविट–भेडाबारी खण्ड एक वर्षभित्र सम्पन्न हुने

१६ भदौ, सुर्खेत । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पूर्वीखण्ड धुलियाविट–भेडाबारी सडक एक वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ । राजमार्गको ट्र्याक खुलेको ४८ वर्षपछि कालोपत्र हुन लागेको हो । विसं २०३२ मा राजा वीरेन्द्र सुर्खेतमा आउँदा राजालाई देखाउनका लागि धुलियाविट–भेडाबारी सडक निर्माण थालिएको थियो । निर्माण थालिएको लामो सयमसम्म पनि स्तरोन्नतिको काम हुन सकेको थिएन् ।

लामो समयदेखि रुख कटानको अनुमति नपाउँदा निर्माणको काममा अवरोध भएकामा अहिले रुख कटानको अनुमति पाएसँगै सडक स्तरोन्नतिको काम अगाडि बढेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले बताए । “सडक निर्माणले अहिले गति लिएको छ । सुर्खेतको पूर्वी खण्डको सडक एक वर्षमा निर्माण सकिन्छ”, शनिबार सडकको अनुगमन गर्दै उनले भने, “पश्चिम खण्डको राजमार्गले पनि चाँडै गति लिनेछ ।”

सडक स्तरोन्नतिका लागि रुख कटान गर्न वन मन्त्रालयले अनुमति दिइसकेकाले अहिले रुख कटानको कामसँगै सडक निर्माणले गति लिएको मन्त्री ज्वालाले बताए। “यो सडकखण्ड एक वर्षमा कालोपत्रको काम पूरा हुने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “लक्ष्य अनुसार नै काम भइरहेकाले निर्माण तोकिएको समसमा नै सम्पन्न हुन्छ ।” मदन भण्डारी राजमार्गको सुर्खेत पूर्वीभागमा ३५ किलोमिटर छ भने पश्चिममा भागमा ९४ किलोमिटर रहेको छ ।

अहिले पूर्वीभागको काम अगाडि बढाइएको मदन भण्डारी राजमार्गका आयोजना प्रमुख शम्भुप्रसाद आचार्यले बताए । “धुलियाविटदेखि बोटेचौरसम्म चार मिटर चौडाइ रहेको सडक सात मिटर बनाइने छ”, उहाँले भन्नुभयो । सडक तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : 16:16