७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मण्डनदेउपुरमा लघुउद्यमका ८० नयाँ उद्यमी

१६ भदौ, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लद्युउद्यमका लागि ८० नयाँ उद्यमी जनशक्ति तयार पारेको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्यूटीसियन र मोटरसाइकल वर्कशपको एक÷एकमहिना तालिम प्रदान गरेको थियो ।

त्यसैगरी बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच÷पाँच दिनको तालिम सञ्चालन गरिएको थियो । चालिस महिलाका लागि ‘एड्भान्स’ सिलाइकटाइ तालिमसमेत प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक एवं लघुउद्यम विकास कार्यक्रमका स्रोत व्यक्ति सुरज पौडेलले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७९÷८० मा उक्त कार्यक्रम नगरपालिकाका वडा नं ४, ५, ८ र १० मा सञ्चालन गरिएको थियो । नगरपालिकाका चार वडामा नयाँ सिर्जित उद्यमीलाई नगरप्रमुख टोकबहादुर वाइबा र उपप्रमुख विष्णुमणि नेपालले वडास्तरमै प्रमाणपत्र र प्रविधि हस्तान्तरण गर्नुभएको छ ।

“सीपमूलक तालिमप्राप्त स्थानीयले व्यवहारमा उतार्न प्रतिबद्धता जनाउनुभएको छ, नगरपालिकामा नयाँ उद्यमी थपिएकोमा खुसी छौँ”, वाइबाले भन्नुभयो । उहाँले एक महिनाको सिलाइकटाइ तालिम पूरा गरेकालाई थप दुई महिनाको ‘एड्भान्स’ तालिम दिने तयारी भएको बताउनुभयो । सिलाइकटाइ, गलैँचा बुनाइ र ब्यूटिसियन तालिममा महिला मात्र सहभागी थिए । नगरपालिकाले एड्भान्स तालिमको व्यवस्थापन गर्नेछ भने मेसिन खरिदमा साझेदारी गर्ने जनाएको छ ।

यस्तै नगरले अब लघुउद्यम कार्यक्रमर्फत समाजमा पछिपरेका वर्ग र समुदायलाई पहिलो प्राथमिकताका दिइने जनाएको छ । यसैगरी नगरपालिकाले सिलाइकटाइ तालिममा सहभागी दुई जनाका लागि एक थानका दरले १८ मेसिन प्रदान गरेको छ । यस्तै चार थान गलैँचा बुन्ने मेसिन र एक सय लिटर क्षमताका १८ पानी ट्याङ्कीसमेत वितरण गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १५:२०