१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बौद्धमा मनाइयो रोपाइँजात्रा

१५ भदौ, काठमाडौँ । वर्षभर बौद्ध क्षेत्रबाट दिवङ्गत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँजात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाका दिन विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा मनाइने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वको रोपाइँ जात्रा आज मनाइएको हो । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा बौद्धमा रहेका सङ्घ संस्थाले सक्रियरूपमा मनाउने सांस्कृतिक महत्त्वको रोपाइँजात्रा गाईजात्राको भोलिपल्ट पर्छ ।

बौद्ध चैत्य परिसरमा एक वर्षअघिदेखि दिवङ्गत भएका परिवारका सदस्यलगायत जात्रा हेर्न आउने र विदेशी पर्यटकसमेतको उपस्थितिमा जात्रा मनाइएको हो । मृतकका परिवारका सदस्य, स्थानीयवासी, हलो, बाउसे र रोपाहारका बीच रोपाइँ जात्रा गरिएको हो । जात्राको विधिअनुसार बौद्ध चैत्य एक पटक घुमाएर जात्रा सम्पन्न गरिएको छ । सांस्कृतिक झाँकीसहित बौद्ध–चुच्चेपाटी–चावहिल–महाङ्काल–तीनचुले–जोरपाटी हुँदै पुनःबौद्धमै आएर जात्रा सकिएको हो ।

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँजात्रा गरेपछि यस क्षेत्रबाट वर्षभर निधन भएकाले मोक्ष एवं शान्ति पाउँछन् भन्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा जात्राले निरन्तरता पाएको काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामाले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १८:४३