अब समग्र जीवन राष्ट्रका अर्पण गर्छु : प्रधानमन्त्री
१४ भदौ, कर्णाली । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै उहाँले नयाँ सङ्कल्पसहित राष्ट्र निर्माणको अनवरत यात्रामा रहेर मुलुकको सुशासन, विकास र समृद्धिका लागि आफ्नो सिङ्गो जीवन अर्पण गर्ने बताएका छन ।
उहाँले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भएको र अब यो नरोकिने प्रतिबद्धता व्यक्त गरेका छन । “सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।” उहाँले आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिको उर्वर भूमि कर्णाली भएको बताउँदै सुर्खेत–हिल्सा सडक सबैभन्दा अगाडि रहने वचन दिए । कर्णाली कोरिडरले यहाँका जनताको भविष्यलाई सुनिश्चित गर्नुका साथै यहाँको आर्थिक क्रान्तिको आधार हुने र सडक निर्माणका कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले क्रान्तिकारीलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढङ्गले अगाडि बढ्न आग्रह गरेका छन। कम्युनिष्ट आन्दोलनले नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको बताउँदै उहाँले विगतको आन्दोलनमा अग्रणी भूमिका खेलेको कर्णाली अब पनि समाजवादी मोर्चाको केन्द्र बन्ने जिकिर गरेका छन ।
प्रकाशित मिति : August 31, 2023 at 5:29 pm









