२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

भोलिदेखि आईपीओ निष्काशन गर्दे सिटिजन लाइफ इन्स्योरेन्स, प्रतिकित्ता कति पर्छ ?

१४ भदाै, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भोली भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २४४ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेकाे हाे ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ।

त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

बाँकी रहेको ९० लाख कित्ता आईपीओ सर्वसाधारण लगानीकर्ताकाे लागि निष्काशन गर्न लागेको हो। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १५ लाख कित्तासम्मका लागि छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 13:26