८ असार २०८३, सोमबार | Mon Jun 22 2026

अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल

१२ भदौ, बुटवल । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब समाजवादी गणतन्त्रमा जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरिए पनि जनताको गणतन्त्र नभएको बताउँदै समाजवादी गणतन्त्रमा जानुपर्ने भनाइ राख्नुभयो । समाजवादी मोर्चाले मङ्गलबार बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिलेको गणतन्त्र जनताको हो की बुर्जवाको हो अझै टुङ्गो लागेको छैन, हामी समाजवादी गणतन्त्र स्थापना गर्न चाहन्छौँ ।” उहाँले समाजवादी गणतन्त्रका लागि अब छिट्टै सडकमा जाने पनि बताउनुभयो ।

उहाँले गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न, संविधानको रक्षा तथा गरिब उत्पीडित जनताका लागि अधिकार प्रत्याभूत गर्नका लागि समाजवादी मोर्चा बनाइएको बताउनुभयो । प्रधानमन्त्री दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नक्कली कम्युनिष्ट भएको पनि आरोप लगाउनुभयो । संविधान कुल्चिएर संसद् विघटन गर्ने र परिवर्तनका उपलब्धिलाई दबाउन खोज्ने कसरी कम्युनिष्ट हुनसक्छ भन्दै उहाँले प्रश्न गर्नुभयो । लुम्बिनीमा समाजवादी मोर्चा घोषणा लुम्बिनी प्रदेशमा समाजवादी मोर्चा घोषणा गरिएको छ । मङ्गलबार बुटवलमा आयोजना गरिएको मोर्चाको सन्देश सभामा प्रदेशस्तरीय समाजवादी मोर्चामा चयन गरिएका समितिका सदस्यको नाम घोषणा गरिएको हो ।

समाजवादी मोर्चामा आबद्ध दलबाट तीन÷तीन जना सदस्य रहने गरी समन्वय कमिटी गठन गरिएको हो । माओवादी केन्द्रको तर्फबाट प्रदेश अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गाबहादुर थारु र सचिव कृष्ण अधिकारी रहनुभएको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, जनता समाजवादी पार्टीबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहनुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीबाट पोलिटब्यूरो सदस्य वसन्त श्रेष्ठ तथा नारायण र सम्झना रहनुभएको छ ।

प्रकाशित मिति : August 29, 2023 at 5:42 pm