८ असार २०८३, सोमबार | Mon Jun 22 2026

‘तत्काल धेरै भारी वर्षाको सम्भावना छैन’

११ भदौ, काठमाडौँ । तत्काललाई धेरै भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका मौसमविद् रोजन लामिछाने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको बताए । धेरै असर गर्ने खालको वर्षा तत्काल नहुने पनि उहाँले बताए । लामिछानेका अनुसार अबको २४ घण्टामा देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

छिटफुट भारी वर्षा पनि हुनसक्ने उहाँले बताए । पहाडी भूभागका क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्नसक्ने गेग्र्यान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध भने गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । भोलि भदौ १२ गते देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । भोलि १२ गते राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

यस्तै १३ गते देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस दिन राति देशभर आंशिकदेखि सामान्य बदली रहने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : August 28, 2023 at 9:06 pm