१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

घाँसको बीउबाटै वार्षिक १० लाख आम्दानी, किन जानु विदेश ?

–प्रकाश धौलाकोटी

३० फागुन, तेह्रथुम । पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् । उक्त समुदायमा सेनामा जागिर खानु इज्जतकै रुपमा लिने चलन छ । त्यसैले पनि धेरैले यस्तो सपना देख्छन् । कतिपयले ती सपना पुरा गर्छन् तर धेरैको अधुरै पनि रहन्छ ।

त्यस्तै सपना देख्नुभएको थियो लालीगुराँस नगरपालिका–९, सोल्मा सिंजेपुका दिलकुमार लिम्बूले । उहाँको सपना पूरा हुन सकेनँ । लाहुरे बन्ने सपना टुटेपछि अहिले ३१ वर्षीय लिम्बूले गाउँमा परिवारसँगै बसेर व्यावसायिक गाईपालन गरीरहनुभएको छ । उहाँले ‘याङहिङबाङ गाई फर्म’ चलाएर वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहनुभएको छ ।

विसं २०७२ मा खोलेको उहाँको गाई फर्ममा अहिले चारवटा उन्नत जातका दुधालु गाई छन् । “लाहुरे बन्ने धोकोले उमेरमा पढ्न सकिएनँ,” उहाँ भन्नुहुन्छ, “उमेर बितेपछि बुद्धि पलायो, स्वदेशमै बसेर पनि नाम र दाम दुवै कमाउन सकिने रहेछ ।”

उन्नति परियोजनाले म्याङलुङमा चलाएको गाईपालनसम्बन्धी तालीममा सहभागी भएपछि आफूलाई व्यावसायिक गाईपालन गर्ने प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ । लिम्बूले शुरुमा इलामबाट पाँचवटा गाई ल्याएर फर्म खोल्नुभएको थियो । उहाँको अलैँची खेती पनि छ ।

गाई फर्मका लागि शुरुमा करिब रु १० लाख लगानी गरेको उहाँले बताउनुभयो । “फर्म दर्ता गरेपछि कृषि विकास बैंकले रु पाँच लाख ऋण दियो, बाँकी अलैँची बेचेर लगानी गरेँ,” लिम्बूले भन्नुभयो । अहिले गाईका लागि उन्नत जातको घाँसको खेती पनि उहाँ आफैँले लगाउनुभएको छ । उन्नत जातको घाँसको खेती गाउँमा थोरैको मात्र छ । उहाँले घाँसको बीउ पनि उत्पादन गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले घाँसको बीउबाट मनग्य आम्दानी हुन थालेको छ ।”

गोरखा, तनहँु र चितवनसम्म पुगेर उन्नत जातका घाँसको बीउ संकलन गरेको उहाँले बताउनुभयो । लिम्बूले संकलन गरेको घाँसको बीउ अहिले गाउँमा लोकप्रिय छ । सबैले उहाँकैबाट घाँसको बीउ खरिद गर्छन् । उहाँको फर्मबाट अहिले दैनिक ४० लिटर दूध बिक्री हुन्छ । दूधबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी हुने गरेको लिम्बुले बताउनुभयो ।

लिम्बूले उत्पादन गरेको दूध गाउँमा खुलेको तीनजुरे दुग्ध उत्पादक सहकारी संस्थाले खरिद गर्ने गरेको छ । यस वर्ष घाँसको बीउ बेचेर उहाँले रु १० लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । फर्मका लागि आवश्यक सामग्री ओसारपसार र दूध ढुवानीका लागि समस्या भएपछि अहिले उहाँले गाईफर्मकै आम्दानीबाट किस्तामा रु २२ लाखको गाडीसमेत किन्नुभएको छ ।

“गाडीबाट मासिक रु ७० हजारभन्दा बढी आम्दानी भइरहेको छ,” उहाँले बताउनुभयो । गाई फर्मदेखि घाँस खेती र दूध ढुवानी गर्न लिम्बू आफैँ खटिनुहुन्छ । गाई फर्म, अलैँची खेती, घाँस र गाडीबाट गरी यस वर्षमात्रै उहाँले रु २४ लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । “अहिले त राम्रै कमाइ भइरहेको छ, बैंकको ऋण पनि घट्दो क्रममा छ,” लिम्बूले भन्नुभयो– “त्यही आम्दानीबाट परिवारको सबै खर्च र घरखर्चसमेत चलाउनु पर्छ ।”

सबै खर्च कटाएर लिम्बूले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । “मेहनत गरे स्वदेशमै मनग्य कमाइ गर्न सकिने रहेछ,” लिम्बूले भन्नुभयो । जिल्लामा सफल र नमूना युवा व्यावसायिक कृषकको रुपमा परिचय बनाउनुभएका लिम्बू अहिले आफ्नो जातिको लोक संस्कृति संरक्षण र उत्थानमा समेत लाग्नुभएको छ । रासस

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार १६:५८