कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण
१० भदौ, काठमाडौँ । नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।
कांग्रेसका नेताहरु मधु आचार्य, जगदिशनरसिंह केसी, भुपेन्द्रजङग शाही, खगेन्द्र मल्ल, जनार्दन आचार्य, शान्ता बास्ताकोटीलगायतको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दाहाललाई भेटेर सो विषयमा ध्यानाकर्षण गराएको हो ।
अभियानकर्ताहरुले ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष अनुसन्धान र सम्पूर्ण दोषीलाई कारबाही गर्नुपर्ने तथा कसैलाई उन्मुक्ति दिन नहुने, नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका थिए ।
यसैगरी सुनकाण्ड प्रकरणमा निष्पक्ष अनुसन्धान गरी कुनै पार्टी नहेरी आग्रह पूर्वाग्रह नराखी नाम जोडिएका जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, देशमा सुशासन कायम हुनुपर्ने, भ्रष्टाचार काण्डमा दोषी जुनसुकै तहको नेता भए पनि कानुनी कारबाही गर्नुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको कांग्रेस नेता शाहीले जानकारी दिए।
सो अवसरमा प्रधानमन्त्री दाहालले सबै मुद्दामा आफू गम्भीर ढङ्गले प्रस्तुत भई त्यसलाई निचोडमा पुर्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रकाशित मिति : August 27, 2023 at 11:42 am









