२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

भदौ १९ गतेदेखि आईपीओ निष्काशन गर्दै भिजन लुम्बिनी, क-कसले दिन पाउँछन् आवेदन ?

१० भदौ, कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ ।

सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनीले यही भदौ १९ गतेदेखि आइपिओ जारी गर्नका लागि सार्वजनिक सूचना निकालेको हो । आयोजनाको प्रभावित क्षेत्रका रूपमा रहेका माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं १९ का स्थानीय बासिन्दाले कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् ।

भिजन लुम्बिनीले आफ्नो जारी पुँजी रु एक अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु १९ करोड १२ लाख ५० हजार बराबरको १९ लाख १२ हजार पाँच सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागिएको कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।

उनका अनुसार सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशतले एक लाख ९१ हजार दुई सय ५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरिने छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम्मा तीन लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम् १९ हजार एक सय २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा असोज २ गते र ढिलोमा असोज १७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असोज २ गतेभित्र आवेदन दिनुपर्ने बताइएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

भिजन लुम्बिनीका कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताए । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । कम्पनीका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरूपमा विद्युत् उत्पादन हुनेछ । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए ।

उनले भने, “जलविद्युत्मा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ, सुरुआती लागत बढेको छैन । पारदर्शीरूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ ।”

माछापुच्छ्रेको सार्दिखोला भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावरहाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।

पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ । सेती जलविद्युत् आयोजनामा रु पाँच अर्ब लगानी रहेको छ । यसमा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गर्न लागिएको आयोजना प्रमुख इन्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : August 27, 2023 at 10:27 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/