सर्वसाधारणका लागि माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला, प्रतिकित्ता कति तिर्नुपर्छ?
१० भदाै, काठमाडाैं । माण्डु हाइड्रोपावर लिमिटेडले आज भदौ १० गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ।कम्पनीले सर्वसाधारणका लागि कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ बिक्री खुला गरेको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री नभएको ७९ हजार ३० कित्ता सेयर थपिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेकाे हाे ।
सर्वसाधारणका लागि जारी हुने कुल कित्तामध्ये कम्पनीले कर्मचारीलाई २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता छुट्याएको छ। बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २४ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमित प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरु तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन पाउनेछन्।
प्रकाशित मिति : 09:39









