३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

९३ वर्षीया लेखिका सुवेदीलाई नियात्रा पुरस्कार

४ भदाै, काठमाडाैँ । चालीस बर्षको उमेरमा अक्षर चिनेर प्रौढ शिक्षिका एवम् सामाजिक अभियन्ता बनेकी सुर्खेतकी ९३ वर्षीया नियात्राकार नन्दकला सुवेदी काठमाडौँमा पुरस्कृत एवम् सम्मानित भएकी छन् । उनलाई शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्य सन्ध्या-हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार एवम् सम्मान २०७९ प्रदान गरिएको हो ।

कार्यक्रममा लेखक नन्दकला सुवेदीको व्यक्तित्व र उनीद्वारा लेखिएको नियात्रा सङ्ग्रह “अठासी वर्षमा कैलाश मानसरोवर” का बारेमा चर्चा समेत गरिएको थियो । कार्यक्रममा वक्ताहरूले जेष्ठ नागरिक नियात्राकार सुवेदी लेखनमा सबै उमेर समूहका लेखकहरूका लागि प्रेरणाकी स्रोत बनेकी छन् भन्ने धारणा ब्यक्त गरेका थिए ।

स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसकेकी सुवेदीको धन्यवाद एवम् आशिर्वाद वक्तव्यको अडियो प्रस्तुत गरिएको थियो । साहित्य सन्ध्याद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यकार श्री उमेश उपाध्यायलाई २०७९ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, साहित्यकार श्री खेमराज निरौलालाई २०७९ सालको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’, नेपालकै वरिष्ठ स्नायु रोग विशेषज्ञ डा.वसन्त पन्तलाई २०७९ सालको ‘साहित्य सन्ध्या–कृबा’ पुरस्कार तथा सम्मान र अर्घाखाँचीकी विद्यार्थी गोमा कामीलाई २०७९ सालको ‘साहित्य सन्ध्या – मन पुरस्कार तथा सम्मान’ प्रदान गरिएको थियो ।

प्रकाशित मिति : 09:30