२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

आमा भेट्न घर हिँडेका विष्णु रिमालले जब बाटैमा मृत्युको खबर सुने…

(नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले आफ्नो आमाको सम्झनामा सामाजिक सञ्जाल फेसबुकमा राख्नु भएको टिप्पणी यहाँ साभार गरिएको हो -प्रधानसम्पादक)

सँधै तर्साउने नागपञ्चमी !

२०५० साउन ८ गते । आमासँग भेट नभएको लामै समय भएको थियो । चार दिन अघि मात्र जननेता मदन भण्डारीको हत्याको बिरोधमा लगातार ३ दिने आम हडताल फिर्ता लिइएपछि त्यसदिन म आमालाई भेट्न घर जाँदै थिएँ । त्यसबेला अहिले जस्तो मोबाइल थिएन । ‘ल्याण्ड लाइन’ फोन पनि सीमित घरमा मात्र थिए । त्यसै दिन बिहान आमालाई फोन गरें र भनें– म आज आउँदैछु है? त्रिशुली– चामल, दाल र आँपको लागि प्रख्यात ठाँउ हो, पहिले फालाफाल पाइने यी चिज अहिले पाइन्न । छोरो सानै थियो । फोनमा आमाले नातीका लागि त्यस्तै सामान तयार गरेकी छु भन्दै हुनुहुन्थ्यो ।

त्रिशुली जाने सडक ज्यादै खराब थियो । अहिले २/३ घण्टा लाग्ने त्रिशुली बजार पुग्न कम्तिमा ४ देखि साढे चार घण्टा लाग्थ्यो । त्यसदिन दिउसो २ बजेतिर म त्रिशुली बजार पुगें । त्रिशुली जाँदा मेरो पहिलो रोकिने स्टेशन दिदीको होटल हुन्थ्यो, त्रिशुली जलविद्युतको पावर हाउसको सामुन्नेको ! अहिले त्यो घर छैन, भुकम्पले सम्म बनाइ दियो ।

बसबाट ओर्लनासाथ मैले भाइ रमेशलाई रुँदै आएको देखें । सोधेँ, के भयो, कहाँ जान लागेको, किन रोएको? उसको जवाफबाट म अबाक भएँ । बिहान मात्रै फोनमा कुरा गरेको मेरी आमा बित्नु भएछ, आमाको आकस्मिक निधन भएकोले उ त कात्रो किन्न पो अएको रहेछ … !!!

घर पुग्दा आमाको मृत शरीर तुलसीको मठ अघि सुताइएको थियो । रुवाबासी चलिरहेको थियो । मेरी आमा सामाजिक काममा भिज्नु भएकोले गाँउभरी नै लोकप्रीय हुनुहुन्थ्यो । अन्तिम श्रद्धाञ्जली दिन आउने गाउँभरीका शुभेच्छुकहरुको भीड थियो । मैले आफन्तहरुलाई हेरें, लडिबुडी गर्दै रोइरहेकी सानी बहिनीलाई हेरेँ र जबरजस्ती आफ्नो मनलाई सम्हाली सबैलाई नरुन भनें । लासको छेउमै झोक्राइरहनु भएको पिताजीलाई हेरेँ, उहाँको पीडा ‘फिल’ गर्ने प्रयास गरें । मृत आमाको अनुहार सुमसुम्याएँ ….

त्यस दिन तिथिले नागपञ्चमीको दिन थियो । आज त्यस घटना घटेको ३६१ महिना बित्यो । त्यस घटना संझना साथ मनलाई झस्काउँछ, घटनाभन्दा बढी त आमाको याद आउँछ ।
भावपूर्ण श्रद्धाञ्जली आमा । हाम्री आमा, सँधै हाम्रो संझनामा !

प्रकाशित मिति : August 21, 2023 at 9:11 am