८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

तिनपिप्ले-रानिपौवा सडकको टेण्डर हुँदै, १ अर्ब ३३ करोड लागत अनुमान

२ भदौ, काठमाडौँ । पासाङल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले-रानीपौवा सडकको टेण्डर केही साताभित्रै हुने भएको छ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङले सडकको भदौभित्रै टेण्डर गर्ने तयारी भएको जानकारी दिए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी विवादित ठेकेदार शारदाप्रसाद अधिकारीसहितको जेभी ठेक्का भएर पनि काम नभएपछि ८ वर्षसम्म सडक भत्काएर अलपत्र पारिएको थियो । भारतको एक्जिम बैंकको ऋण लगानीमा विस्तार हुन लागेको सडकमा ठेक्का कतिपय शर्तका कारण काममा अफ्ठेरो हुँदै आएको सडक आयोजनाका कर्मचारीले बताउने गरेका छन । अहिले उक्त ठेक्का रद्द भैसकेको छ ।

अहिले आन्तरिक स्रोतबाटै सडक निर्माण गर्नका लागि स्रोत सुनिश्चत गरिएको सांसद तामाङले जानकारी दिए । उनले दैनिकीसँग कुरा गर्दै आन्तरिक स्रोतबाट पहिलो चरणमा तिनपिप्ले रानीपौवाको सडकमात्र विस्तार भएर पिच हुने बताए । उनले रानीपौवादेखि पिपलटार सडकको निर्माणका लागि भारतकै एक्जिम बैंकको ऋणमा अर्को ठेक्का लाग्ने तयारी भएको बताए ।

सरकारले चालू आर्थिक वर्षको बजेट भाषणमा ५० करोड रूपैयाँ उक्त सडकका लागि बजेट विनियोजन गरेको थियो । सडकको डिपिआर तयार भएको र कुल लागत १ अर्ब ३३ करोड हुने अनुमान रहेको सांसद तामाङले बताएका छन । सडक निर्माणका लागि बहुबर्षिय ठेक्का स्वीकृत भएको छ । साउन ३२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले

पासाङल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले(रानिपौवा सडकको बहुबर्षिय ठेक्का लागि स्वीकृत दिएका छन । मन्त्रालयको पक्रिया सकेर उक्त सडकको फाइल राष्ट्रिय योजना आयोगमा पुगेको छ । त्यसपछि अर्थमन्त्रालय पुगेर बजेट सुनिश्चित भएपछि उक्त सडकको टेण्डर हुने र त्यो भदौभित्रै सकिने सांसद तामाङले दाबी गरेका छन ।

विगतमा अर्कै सडक आयोजनाबाट निर्माण गर्न खोजिएको यो सडकखण्ड यस पटक भने सरकारको  सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ठेक्का लगाउने छ । सडक सात मिटर चौडाइको कालोपत्रे हुनेछ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार ०७:५४