२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

विदेश जान कीर्ते कागजात बनाउने बढे, डेल्फिक नेपालले गरायो सचेत

३२ साउन, काठमाडाैँ । विदेश जाने प्रयोजनका लागि कतिपय मानिसहरूले कीर्ते कागजात बनाएर दूतावास र विभिन्न निकायमा पेश गर्ने गरेको पाइएपछि नेशनल डेल्फिक काउन्सिल नेपालले सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै सचेत गराएको छ ।

नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष बाबुराम अर्याल (श्रीदेब बिएल)ले बिहीबार एक सूचना जारी गर्दै लेटरप्याड, छाप तथा हस्ताक्षर किर्ते गरी विभिन्न देशहरूमा भिसा प्रक्रियाको लागि ‘जो जससँग सम्बन्धित छ’ व्यहोराको पत्र दुरूपयोग भैरहेको भन्दै सचेत रहन अनुरोध गरेका छन ।

डेल्फिक नेपाल अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको नेपाल च्याप्टर हो । यो संस्था विश्वभरका १५० भन्दा देशहरूमा रहेको छ । यसले संसारभरको कला र संस्कृतिको प्रवर्द्धनमा काम गर्दै आएको छ ।

यस्तो छ सूचना

पत्र दुरुपयोगसम्बन्धि अत्यन्त जरूरी सूचना !
इन्टरनेशनल डेल्फिक काउन्सिलको नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’को लेटरप्याड, छाप तथा हस्ताक्षर किर्ते गरी विभिन्न देशहरूमा भिसा प्रक्रियाको लागि ‘जो जससँग सम्बन्धित छ’ व्यहोराको पत्र प्रयोग भईरहेको सूचना प्राप्त भएको छ । यस संस्थाले जारी गरेको पत्र सम्बन्धित व्यक्तिले जस्ताको तस्तै प्रयोग गर्नुपर्दछ, पत्र प्राप्त गरेका व्यक्तिले पनि पत्रलाई थपघट गर्नु, आफुले प्राप्त गरेको पत्र अन्यलाई दिनु वा अन्य जो-कसैले पनि किर्ते गरी प्रयोग गर्नु कानूनविपरित रहन्छ । तसर्थ हामीलाई प्राप्त सूचनाका आधारमा यस संस्थाको पत्र दुरुपयोग भएको भेटिएमा कानूनबमोजिम कारबाही गर्न बाध्य हुने व्यहोरा जानकारी गराउदछौँ।
साथै, राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरूलाई यसबारेमा औपचारिक जानकारी गराईसकिएको छ । यस संस्थाबाट जारी भएका पत्र प्राप्त गरेमा त्यसको सत्यता पुष्टी गर्नको लागि सम्बन्धित निकायहरूलाई यस संस्थामा विभिन्न माध्यमबाट सम्पर्क स्थापित गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।
बाबुराम अर्याल (श्रीदेब बिएल)
अध्यक्ष

प्रकाशित मिति : August 17, 2023 at 6:40 pm