रिलायबल नेपाल लाइफको आईपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन् सेयर ?
३१ साउन, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुने भएकाे छ । कम्पनीले साउन २३ देखि साउन २६ गतेसम्म सर्वसाधारणको लागि प्रिमियम मूल्यमा निष्काशन गरेको आईपीओ आज बाँडफाँड गर्ने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएकाे छ ।
कम्पनीकाे आईपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा ९ लाख ६० हजारले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् ।
इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा सेयर निष्काशन गरेको हो।इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।
त्यसैगरी, कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि (प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।
प्रकाशित मिति : August 16, 2023 at 11:29 am









