दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारका पाँचवटा कसूरमा दोषी ठहर
३० साउन, काठमाडौं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले घुस र रकम हिनामिनाजस्ता ५ वटा कसूरमा दोषी ठहर गरेको हो ।
यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले रिजालविरुद्ध लगाइएको आरोप ठहर गरेको हो । रिजालविरुद्ध चारवटा घुस र एउटा रकम हिनामिना सम्बन्धी कसुर गरेको आरोप लागेको थियो।
२०७६ माघ २० गते रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्धा दायर गरेको थियो । रिजाललाई एउटा मुद्दामा एक वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएको छ। अदालतले तोकेको बिगोमा दुई लाख रुपैयाँ उनको बैंक खाताबाट जफत गरिनेछ। अन्य बाँकी दुई लाख उनले जम्मा गर्नुपर्ने भएको छ।
रिजालले दोलखामा प्रजिअ हुँदा घुस लिएर भ्रष्टाचार गरेको प्रमाण भेटिएपछि अख्तियारले मुद्दा चलाएको थियो। जिल्ला प्रशासन कार्यालयले हेर्ने मुद्दाका प्रतिवादीलाई धरौटीमा रिहा गर्नका लागि रिजालले ४ लाख रुपैयाँ घुस लिएका थिए।
प्रकाशित मिति : August 15, 2023 at 7:49 pm









