८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

बागमती प्रदेशमा लम्पी स्किन विरुद्धको खोप अभियान शुरू

३० साउन, काठमाडाैं । बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान शुरू भएको छ ।बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा प्रदेशका १३ जिल्लामा खोप अभियान शुरू भएको जनाइएको छ ।

३ दिन अगाडि साताव्यापी रूपमा सञ्चालन भएको खोप अभियानअन्तर्गत विगत ३ दिनमा १३ हजार ५१६ गाईगोरु तथा बाछाबाछीलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

प्रथम दिन ४ हजार ४६७, दोस्रो दिन ४ हजार ६९४ तथा तेस्रो दिन ४ हजार ३३३ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।

अभियानअन्तर्गत पहिलो ३ दिनमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । त्यहाँ २ हजार ४८८ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको हो ।

मकवानपुरका २ हजार ४४ पशु, काभ्रेका १ हजार ५२२, सिन्धुलीका १ हजार १९८ पशु, धादिङका १ हजार ५५, काठमाडौंका १ हजार ४२, नुवाकोटका ९९८, रामेछापका ९८२, सिन्धुपाल्चोकका ८५६, रसुवाका ५८३, भक्तपुरका ५५४, ललितपुरका १७ पशु र दोलखाका ८३ पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको छ ।

भदौ १ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत ५० हजार पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।

सो रोग लागेमा गाईगोरु र बाछाबाछीमा स्वरो आउने, जीउ काँप्ने, छालाको रोग परिवर्तन हुने तथा जीउभरि घाउ, खटिरा हुने, अन्नपानी र दाना नखाने गरेको र त्यस रोगबाट पशुको मृत्यु हुने गरेको बागमती प्रदेशको पशुपन्छी विकास निर्देशनालयका निर्देशक तथा पशु चिकित्सक डा. ब्रजकिशोर ठाकुरले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १९:२४