१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

नबिल बैंकको खाताबाट नुवाकोटको एक महिलाको पैसा चोरी


२८ साउन, काठमाडाैँ । नबिल बैंक लिमिटेडको खाताबाट नुवाकोटको एक महिलाको पैसा हराएको छ । एटिएम कार्ड र मोबाइल बैंकिङ समेत प्रयोग नगर्ने ती महिलाको पैसा बैंकको खाताबाट गायब भएको हो । नबिल बैंकको बालाजुक्षेत्रको माछापोखरी शाखामा रहेको ३७………९५ नम्बरको खाताबाट पैसा चोरिएको हो ।

पीडित महिलाले २०८० असार ६ गते आफ्नो खाताबाट पैसा झिक्न जाँदा बल्ल पैसा चोरी भएको थाहा पाएकी थिइन । उनले पैसा झिक्न टेलरमा जाँदा खातामा पैसा छैन भनेर कर्मचारीले भनेपछि स्टेटमेन्ट झिकेर हेर्दा उनको खाताबाट पैसा चोरी भएको पुष्टि भएको थियो । त्यसपछि बैंकसँग कुरा गर्दा बैंकले गैरजिम्मेवार जवाफ दिएर पठाएको पीडित महिलाले बताएकी छिन ।

तारकेश्वर नगरपालिकाको वडा नम्बर ४ को गोलढुंगा अस्थायी घर भएकी उनले बैंकमा सन् २०२२ को डिसेम्बर ७ तारिखमा खातामा ५० हजार रूपैयाँ आफैँले जम्मा गरेकी थिइन । त्यसपछि उनको खाताबाट सन २०२२ को डिसेम्बर १६ र र १७ मा गरेर सबै पैसा चोरिएको छ । पैसा झिक्नका लागि ९८००९७१४२२, ९७४६४४५५२२, ९८२८९६९०५१ गरी तीनवटा फरक मोबाइल नम्बर प्रयोग गरी १२ पटकमा सबै पैसा चोरी भएको छ । पहिलो दिन उनको खाताबाट १० पटक गरेर ४५ हजार रूपैयाँ चोरी भएको छ । त्यस्तै दोस्रो दिन ८ हजार १ सय रूपैयाँ चोरी भएको छ ।

पीडित महिलाको बैक स्टेटमेण्ट ।

एमपेबाट उनको पैसा झिकिएको छ । पहिलो पटक सय रूपैयाँ चोरीएको खाताबाट सोही दिन दोस्रो पटक चार हजार नौ सय र तेस्रो पटकबाट पाँच हजारका दरले दशौँ पटकसम्म निकालिएको छ । त्यस्तै १७ तारिखका दिन एक पटक पाँच हजार र अर्को पटक तीन हजार एक सय रूपैयाँ चोरिएको छ । अचम्म त के छ भने एकै दिन तीन वटा फरक फरक मोबाइल नम्बरको प्रयोग गरी पैसा चोरीएको छ । कुल ५३ हजार एक सय रूपैयाँ चोरी भएको छ ।

आफ्नो खाताबाट बैंकका कर्मचारीको मिलेमतोमै पैसा चोरीएको हुनसक्ने उनको अनुमान छ । एटिएम कार्ड र मोबाइल बैंकिङ समेत प्रयोग नगर्ने व्यक्तिको खाताबाट यसरी पैसा चोरी भएको विषयमा हामीले नबिल बैंकका सूचना अधिकारी सुरेशप्रसाद त्रिपाठीसँग चासो राख्दा उनले नबिल बैंकबाट पैसा हराउनै नसक्ने दाबी गरे ।

शुक्रबार दिउँसो ३ बजेर २९ मिनेटमा दैनिकीको सम्पर्कमा हुँदा सम्बन्धित शाखामा बुझेर जानकारी दिने बताएका त्रिपाठी त्यसपछि आफैँ हराए । उनले कुनै पनि जानकारी दिएनन । हामीले नबिल बैंकका प्रमुख कार्यकारी अधिृकत ज्ञानेन्द्र ढुंगानासँग पैसा चोरी भएको विषयमा कुरागर्न सम्पर्कको प्रयास गरेको भए पनि उनी सम्पर्कमा आउने चाहेनन् । हामीले गरेको तीन पटकको फोन नउठाएका उनले म्यासेजको पनि कुनै रिप्लाइ गरेनन् ।

(सुरक्षाका कारण पीडित महिलाको पहिचान गोप्य राखिएको छ- प्रधानसम्पादक)

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार २२:०६

https://srdb.com.np/