२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्ने युवाको दुःखका दिन यसरी सकियो

—गोपालप्रसाद बराल

३० फागुन, महोत्तरी । ‘गरे के हुँदैन’ भन्ने आहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का उत्साही युवाले खेतीपातीबाटै राम्रो आर्जन गरेर चरितार्थ गरेका छन् ।

रोजगारीका लागि विदेश जान साहुले ऋण नपत्याउँदा राहदानी घरमा थन्क्याएका सो बस्तीका उत्साही युवाले सामूहिक प्रयत्नबाट खेतीपातीबाटै केही वर्षभित्रै राम्रो आम्दानी गरेर सो आहान चरितार्थ गरेका हुन् ।

‘पासपोर्ट बनाएर विदेश जान साहुका घर÷घर धाइयो’ सो बस्तीका ३७ वर्षीय किसान चन्देश्वर राय दनुवारले पाँच वर्ष पहिलेको कुरा सम्झँदै भन्नुभयो, “कसैले ऋण नपत्याएपछि जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्न थालियो,अब चैं दुःख र अभावका दिन सकिएजस्तो लागेको छ ।”

ऋण नपाएर जिङ्राएर बसेको बेला जिल्ला कृषि विकास कार्यालय महोत्तरीका कर्मचारीको प्रेरणाले श्री गढीमाई कृषि सहकारी संस्था गठन गरी दिलोज्यानले खेतीमा लागेका सो बस्तीका चन्देश्वरसहितका युवाले केही वर्षभित्रै गरेका प्रगति सबैका लागि उदाहरणीय बनेको छ ।

शुरुमा जग्गा ठेक्कामा लिएर तरकारी खेती गरेका संस्थामा आबद्ध युवाले चार÷पाँच वर्षभित्रै केही जग्गासमेत जोडेर घर व्यवहार राम्ररी चल्न थालेको बताएका छन् । अहिले सो बस्तीका ३० जना संस्थामा आबद्ध छन् । पछिल्ला पाँच बर्षयता तरकारी बालीमा ओल, आलु, कोबी, भाण्टा मात्र नभएर अन्नबालीमा पनि नयाँ प्रयोग गरेर चैते धान र गहुँको खेती शुरु गरिएको संस्थाका अध्यक्ष सत्यनारायण यादवले बताउनुभयो । आफ्नो बस्तीमा उत्पादित ओल (तरकारी विशेष) र अन्नबालीमा चैते धान तथा गहुँको उन्नत बीउ नै मुलुकका विभिन्न भेगमा संस्थाले पठाउन थालेको यादवले जानकारी दिनुभयो ।

“हामीले जिल्ला कृषि विकास कार्यालयका विज्ञकै रेखदेखमा ओल, चैते धान र गहुँको बीउ उत्पादन शुरु गरेका छौँ”, अध्यक्ष यादवले भन्नुभयो, “अहिले हाम्रो ध्यान नै माग भएको ठाउँमा बीउ आपूर्ति गर्नमा केन्द्रित छ, पूर्वमा सुनसरी, मोरङ र पश्चिममा डडेलधुरासम्म हामीले उत्पादन गरेको बीउ गइरहेको छ ।” यसपालि मात्रै कृषि सामग्री संस्थानको समन्वयमा विजय र तिलोत्तमा जातका उन्नत गहुँको बीउ ११० क्विन्टल बाहिर पठाइएको संस्थाले जनाएको छ ।

त्यसैगरी, हर्दिनाथ, राम र बासमती जातका उन्नत चैते धानको बीउ पनि यसपालि विभिन्न जिल्लाका कृषि सहकारी संस्थाले माग गरेअनुसार १०० क्विन्टल गएको अध्यक्ष यादवले जानकारी दिनुभयो । संस्थाले यसपालिदेखि तरकारीमा ओल र मसलामा बेसार आफैँ किन्न थालेपछि किसान बजार जानपर्ने झन्झटबाट पनि मुक्त भएका छन् । घर प्रयोजनमा खान उपयोग गरिने र बीउका लागि फरक÷प्रविधिले बाली उत्पादन हुने गरेको छ ।

“बीउकालागि मूल बीउबाट सिवन, प्रजन उन्नत बीउ बनाइन्छ”, अध्यक्ष यादवले भन्नुभयो, “हामीले विज्ञको रेखदेखमा सिवन बीउ उत्पादन गरेका छौँ, जसको फसल निकै राम्रो हुने गरेको छ ।” खेतीका बेला राम्रो बीउको हाहाकार हुने स्थिति आफ्नै भाइभतिजको प्रयत्नले हटेपछि बस्तीका पाका किसान दङ्ग परेका छन् ।

अब त सानो हलो जोत्ने ट्र्याक्टर, रोटाभेटर र लाइन कल्टी संस्थासँगै छ । आफ्नै कार्यालय र भण्डार कक्ष बनाएको संस्थाले बीउ, मलखाद आपूर्ति गर्ने स्वीकृति पाएपछि खेतीपातीमा धेरै सहज भएको सो बस्तीका किसान इस्लाम राइनले बताउनुभयो ।

पछिल्ला पाँच वर्षभित्र संस्थाको सक्रियतामा भङ्गाहा–४ का रामनगर, पलार, टोका र प्रेमनगरमा गरी ३० वटा बोरिङ जडान भएपछि सिँचाइमा निकै सघाउ पुगेको रामनगर बस्तीका पाका किसान जबार शेष बताउनुहुन्छ । पर्ति, बलौटे र ढुङ्ग्यान जग्गाको सबै ठाउँमा पानी पु¥याएपछि जुनसुकै बाली मनै लोभ्याउने गरी लहलहाएको छ । आफ्नै छोरानातिले गरेको पौरख देख्दा बाटो हिँड्ने बटुवासमेत प्रफुल्लित हुँदै उनीहरुको मिहिनेतबाट दंग पर्ने गरेका रामनगर बस्तीका ७५ वर्षीय किसान दीपबहादुर पुmँयालको भनाइ छ ।

शुरुमा जग्गा लिज (ठेक्का) मा लिएर खेती शुरु गरेका सो संस्थामा आबद्घ युवाले अब आफ्नै आर्जनले जग्गासमेत जोडेर विदेश कमाउन जानेलाई थक्थक् बनाएको देख्दा सन्तोष लाग्ने गरेको सो बस्तीका बुढापाका बताउँछन् । आफ्नै बस्तीमा जहानपरिवारसँगै बसेर दौँतेरीले गरेको पौरख देखेपछि कामकै लागि विदेश जान राहदानी (पासपोर्ट) बनाएका युवा पनि खेतीतिर लागेका छन् । समूहमा आबद्ध साथीले केही वर्षभित्रै खेतीबाट गरेको प्रगतिले अब आपूm पनि विदेश जाने कुरा छाडेर खेतीबारीकै काममा लाग्ने टुंगोमा पुगेको सो बस्तीका ३५ वर्षीय युवा अहमद राइनले बताउनुभयो ।

अर्काको पाँचकट्ठा जग्गा ठेक्कामा लिएर तरकारी खेती शुरु गरेका संस्थामा आबद्घ बहुरा महतोले खेतीकै पौरखले पाँच वर्षभित्रै जहान परिवारको परिपालन गरेर १० कट्ठा जग्गा जोडेका छन् । घरको गरिबीले दिक्क भएर विदेश जाने निर्णय गर्दै राहदानीसमेत बनाएका महतोले साहुले ऋण नपत्याएपछि आफूले भाडामा जग्गा लिएर खेती शुरु गरेको विगत सम्झनुभयो ।

दिनरात नभनी आफूले गरेको मिहिनेतले राम्रो सफलता पाएर जहान परिवारको प्रतिपाल गर्दै गाउँघरमा अर्का मर्का पर्दा सहयोग गर्न पाउँदा सन्तोष लाग्ने गरेको उहाँको भनाइ छ । गाउँका धनीमानीमा गनिनेका छोराछोरीसँगै आफ्ना छोराछोरीलाई पनि राम्रो शिक्षा दिन सकिएकामा सन्तोष लाग्ने गरेको संस्थामा आबद्घ किसान बताउँछन् ।

युवा किसानले खेतीसँगै पशुपालनसमेत गर्न थालेपछि जग्गामा चाहिने मलमा पनि आत्मनिर्भर बन्दै गएको बताएका छन् । अहिले संस्थामा आबद्घ सबै किसानले गाई, भैँसी, बाख्रा र कतिपय किसानले कुखुरासमेत पालन गर्न थालेपछि दूध र मासुको बजारमा पनि आफ्नो उत्पादनको माग बढेको संस्थाका अध्यक्ष यादवले जानकारी दिएका छन् । संस्थामा आबद्घ ३० जना युवाको खेतीमा देखिएको लगन र उनीहरुले पाएको सफलताबाट विदेश जाने तर्खरमा रहेका अन्य युवाले पनि विदेशिने मनसाय छाडेर खेती शुरु गरेका छन् ।

सँगैका साथीले गाउँमै मिहिनेत गरेर राम्रो आर्जन गरेकाले आफूले विदेशिने मनसाय छाडेर तरकारी खेती शुरु गरेको सोही बस्तीका हरिदेव महतोको भनाइ छ । परिश्रमी, सहयोगी र सरल व्यवहारका आफ्ना बस्तीका युवाले खेतीबाटै पाएको सफलता र त्यसको अनुकरण अरूले गर्न थालेको देख्दा निकै खुशी लागेको बस्तीका ८० वर्षीय वृद्घ बिक्रम महतोले बताउनुभयो ।

श्री गढीमाई कृषि सहकारी संस्था भंगाहा—३, रामनगरमा आबद्घ किसान जिल्लाकै उत्कृष्ट मिहिनेती किसान भएका जिल्ला कृषि बिकास कार्यालय महोत्तरीले जनाएको छ । संस्थामा आबद्घ किसानले केही वर्षभित्रै खेतीबाटै लाखौँ आम्दानी गरेर पैसाकै लागि विदेशिने युवाका लागि गाउँघरमै बसेर मिहिनेत गर्ने सन्देशसमेत दिएका कार्यालय प्रमुख ओमप्रकाश बिराजी बताउनुहुन्छ । रासस

प्रकाशित मिति : March 14, 2018 at 10:52 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/