सेनालाई कमजोर आँकलन गरिनुहुन्नः वामदेव गौतम
४ साउन, काठमाडाैं । सांसद वामदेव गौतमले नेपाली सेनालाई कमजोर आँकलन गर्न नहुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद गौतमले नेपाली सेनाले अप्ठ्यारो परेका बेला देश र जनतालाई सधैँ सहयोग र योगदान गर्दै आएको स्मरण गर्दै नेपाली सेनाबारे जथाभावी अभिव्यक्ति दिन नहुने धारणा राखे।
“नेपाली सेना राज्यशक्तिको नाम हो । सार्वभौमसत्ता, सीमाको रक्षा र राष्ट्रमा आइपर्ने जुनसुकै विपद्मा ज्यानको बाजी राखेर परिआएको खण्डमा बलिदान दिनेगरी सेवारत नेपाली सेनालाई यसरी अपमान गर्न हुँदैन”, उनले भने ।
सांसद गौतमले नेपाली सेनाको इतिहासको स्मरण गराउँदै सेनाले विभिन्न क्षेत्रमा आफूलाई अब्बल बनाउँदै आएको उल्लेख गरे । “देशलाई बलिदानी दिन तयार रहेर सेवारत सेनालाई कमजोर बनाइनुहुन्न । राज्यका चार वटा अङ्गमध्ये एउटा मात्रै अङ्ग कमजोर भए हामीले दुर्घटना बेहोर्नुपर्छ । त्यसैले नेपाली सेनालाई अपमान गर्न हुँदैन”, उनले भने ।
‘सेनाको सङ्ख्या घटाएर त्यसबाट बचेको रकमबाट देश विकास गर्नुपर्छ’ भन्ने दिएको अभिव्यक्तिको कटाक्ष गर्दै सांसद गौतमले सेनालाई कमजोर तुल्याउने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिए ।
सांसद गौतमले नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेकामा धन्यवाद दिँदै यसलाई कम्युनिष्ट पार्टीहरुले पनि अनुसरण गर्नुपर्ने बताए । उनले भने, “कांग्रेसले केन्द्रीय समितिको बैठक खुला गरेर धेरै राम्रो काम गरेको छ, कांग्रेसलाई बधाई दिन चाहन्छु, त्यही बाटोमा कम्युनिष्ट हिँड्नुपर्छ ।”
प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १५:५४