७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

नुवाकोटको फिकुरीमा २५ लाखको पर्खाल १० दिनमै ढल्यो

३ साउन, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर २ फिकुरीमा २५ लाख खर्च गरेर बनाइएको पर्खाल १० दिनमै भत्किएको छ । जग समेत नखनी हालिएको पर्खाल सोमबार भत्किएको स्थानीयले बताएका छन । स्थानीय शिव फुयाँलले कमजोर निर्माण भएका कारण पर्खाल भत्किएको बताए । उनले दैनिकीसँग कुरा गर्दै पर्खालकै कारण चर्किएको जमिन भत्किए काउले भाल्चे सडक अबरूद्ध हुने र बस्ती समेत जोखिममा पर्ने बताए ।

उनले ४० मिटर लम्बाइ र १५ मिटर उचाइको पहिरो गएको बताए । निर्माण समितिको गैर जिम्मेवारीले यस्तो परिस्थिति सिर्जना भएको भन्दै राज्यको ध्यानाकर्षण हुनुपर्ने बताए । फुयाँलले बारीको पाटोको बीचबाट जगसमेत नखनी पर्खाल उठाउँदा समस्या भएको बताए । फिकुरी बहुमुखी क्याम्पसको हातभित्र लगाएको पर्खाल सोमबारको समान्य झरीले नै भत्काइदिएको स्थानीय फिकुरी प्रहरी चौकीले पुष्टि गरेको छ ।

स्थानीयहरूले पर्खाल निर्माणमा भ्रष्टाचार भएका कारण १० दिन पनि नटिकेको बताएका छन । पहिरो जाने पानी नपरेको तर सिमसिम पानीले नै पर्खाल भत्काएपछि त्यसमा गाउँपालिका र अख्तयारले छानविन समिति नै बनाएर उक्त निर्माणको अनुगमन गर्नुपर्ने बताएका छन । प्राविधिकसहितको मिलेमतोमा कमजोर पर्खाल निर्माण हुँदा समस्या भएको उनीहरूले बताएका छन । बागमती प्रदेशसभाको पूर्व सदस्य एमाले नेतृ आशामाया लामाले समेत पर्खाल निर्माण समितिको नाम समेत सार्वजनिक गर्दै गुणस्तरको बारेमा सार्वजनिक रूपमै प्रश्न उठाएकी छिन ।

किस्पाङ गाउँपालिकाका पूर्व अध्यक्ष छत्र लामा नै अध्यक्ष रहेको क्याप्समा निर्माण समितिको संयोजक पनि उनी नै रहेका थिए । प्राविधिक स्टेटमेन्ट समेत गलत तयार गरेर अध्यक्ष लामाले कमसल पर्खाल लगाएको क्याम्पसका शिक्षकहरूले समेत बताएका छन ।

बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालय गजुरीबाट कार्यान्वय गरिएको २५ लाखको योजनामामा जम्मा १८ लाखमात्र बजेट प्राप्त भएको अध्यक्ष लामाले जानकारी दिए । उनले दैनिकीसँग कुरा गर्दै गाउँका मानिसले प्राविधिक कुरा नबुझेकोले बिरोध गरेको पनि बताए । उनले भने, ‘तपाईंहरू जत्तिको मिडियामा यस्तो समाचार आउनु राम्रो हुन्न समाचार नलेखिदिनुहोला । हाम्रो गाउँका मान्छे खास कुरा बुझ्दैनन् । बिरोधमात्र गर्छन । पर्खाल पानी परेर भत्किएको हो । माटो बढी भएछ । हामीले इन्स्युरेन्स पनि गरेका छौँ । त्यो कुरा मिलहाल्छ ।’

यस्तै फिकुरी बहुमुखी क्याम्पसका प्रमुख चुडामणि न्यौपानेले पर्खालको बीमा गरिएको भए पनि असार ३१ गते नै मिति सकिएकाले त्यो पाटो च्याप्टर क्लोज भएको बताए । उनले दैनिकीसँग कुरा गर्दै भने, ‘पर्खाल त राम्रै बनाएको हो तर माटो बढी भरिएछ त्यसमाथि पानी जम्यो अनि पर्खाल त गर्ल्याम्मै लडिहाल्यो नि सर । २१ गते गएँको थिएँ इन्सुरेन्समा १३ हजार को कि १५ हजार तिरेको थिएँ । तर ३१ गतेसम्ममात्रै रहेछ । मालमिटर हाले पनि फिलिङ माटो बढी भएर पर्खाल लड्यो । माटो धेरै भएर पर्खाल लडेको हो पर्खाल नै कमजोर लगाएको त हैन ।’

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १८:०९