८ असार २०८३, सोमबार | Mon Jun 22 2026

माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले दिन पाउछन् आवेदन ?

२८ असार, काठमाडाैं । माण्डु हाइड्रोपावरले आज असार २८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हाे ।

कम्पनीले १०० अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको छ।

कुल कित्तामध्ये २ प्रतिशत हुन आउने २ लाख ७२ हजार ७३० कित्ता सेयर कम्पनीले स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ। यो आईपीओमा ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुर जिल्लाकोे भीमफेदी गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा इन्द्र सरोपर गाउँपालिका वडा नं. ३ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्तावैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ। उक्त आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गते बैंकिङ समयपछि हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

स्थानीय बासिन्दाले आयोजनास्थल, प्रभु क्यापिटलको कार्यालय र प्रभु क्यापिटलले निर्माण गरेको अनलाइन तथा प्राइम कमर्सियल बैंकको भीमफेदी शाखा, कुमारी बैंकको बागमती शाखा र प्रभु बैंकको हेटौँडा शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : July 13, 2023 at 9:28 am