१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

विद्यालयका नाममा राजनीति गर्नेहरूले पढ्नै पर्ने पात्र नुवाकोटका नन्दराम न्याैपाने

-पवित्रा मुडभरी

२७ असार, नुवाकोट । विद्यालयका नाममा राजनीति गरेर शैक्षिकस्तर समेत ध्वस्त पार्ने जमात अहिले हरेक गाउँमा भेटिन्छ । अझ सामूदायिक विद्यालयमा फोहोरी राजनीति नगर्ने मान्छे पाउँन त साह्र मुस्किल छ । यस्तै मुस्किलको बीचमा भेटिएका छन नुवाकोटको दुर्गम किस्पाङ गाउँपालिका वडा नम्बर ३ को काहुलेस्थित ऐँसेलुभूमे माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपाने । जो विद्यालय स्थापना भएदेखि अहिलेसम्म निरन्तर व्यवस्थापन समितिको अध्यक्ष रहँदै आएका छन । अर्थात ३४ वर्षदेखि एकै व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन ।

देशका धेरै सामुदायिक विद्यालयहरूमा व्यवस्थापन समितिको अध्यक्ष र सदस्य बन्न अहिले पनि चुनाव र मारपिट हुन्छ । अझ चुनावमा त नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता पार्टीको प्यानल नै बनाएर पनि लड्छन । नुवाकोटकै किस्पाङको पनि अन्य सामुदायिक विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष  र सदस्य बन्न हानाथाप हुने गरेको छ । तर ऐसेलु भूमे मावि त्यस्तो विद्यालय हो जहाँ विद्यालय स्थापनाको ३४ वर्षसम्म नन्दराम न्यौपानेलाई चुनौति दिने कोही देखिएका छैनन् ।

अर्थात सबै अभिभावक र शिक्षकको प्रिय बनेर नन्दरामले ३४ वर्षअघि प्लास्टिकको छानोबाट सुरू भएको विद्यालय भौतिक रूपमा सम्पन्न हुँदासम्म नेतृत्व गरेर अघि बढिरहेका छन । यसको प्रतिफल स्वरूप सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले न्यौपानेलाई २०७८ सालमा देशभरका सामूदायिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्षहरू मध्ये उत्कृष्ठ ठहर गर्दे प्रवल जनसेवा श्री (चतुर्थ)बाट सम्मानित गरेकी थिइन ।

विद्यालयलाई सफल बनाउन शिक्षक, विद्यार्थी अभिभावक र स्थानीय सरकारको भूमिका पनि महत्वपूर्ण हुन्छ । ५९ वर्षीय नन्दराम ती सबैको भूमिकालाई न्याय गर्दै कुशल नेतृत्व गरेर सामुदायिक विद्यालयहरूमा देशकै उत्कृष्ट बनाउने अभियानमा लागेका छन ।  पछिल्लो समय पढ्दै–कमाउँदैको नारासहित विद्यालयमा प्राविधिक विषयहरूको पठाइ सुरू गरेर संस्कार र सीपसहितको जनशक्ति उत्पादनमा केन्द्रीत भएका छन ।

स्थापनाकालमा छाप्रोमा कक्षा ३ सम्म सञ्चालित उक्त विद्यालयमा अहिले बालमैत्री तथा हरियाली वातावरण छ । भूकम्पप्रतिरोधी भवनमा सुविधासम्पन्न कक्षा कोठा छन् । तीस रोपनी जग्गामा फैलिएको सो विद्यालयमा बहुउद्देश्यीय भवन, छात्रावास, सङ्ग्रहालय, पर्याप्त खेलमैदान, पुस्तकालय तथा विज्ञान र कम्प्युटर प्रयोगशालाको व्यवस्था छ ।

विद्यालयमा अनुभवी, दक्ष र विषयगत शिक्षकले आधुनिक तथा मल्टिमिडिया प्रविधिको सहयोग तथा श्रव्यदृश्यका माध्यमबाट पढाउँछन् । विद्यालयमा प्राथमिक तहमा तुलनात्मकरूपमा विद्यार्थी कम देखिए पनि माथिल्लो तहमा भने अत्यधिक चाप रहेको गाउँपालिका अध्यक्ष बीरबल तामाङ बताउँछन ।

३४ वर्षदेखि विद्यालय व्यवस्थापन समितिमा रहेर नमुना बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका न्यौपानेले आफैँले सुरूमा जग्गा दान गरेर वि।सं। २०४६ सालमा विद्यालयको  स्थापना गरेका थिए । तर, स्रोत नभएर झण्डै १२ वर्ष प्राथमिक विद्यालयकै अवस्थामा रह्यो । न्यौपानेको जोडबलमा विद्यालय २०५८ सालमा बल्ल निमावि बन्यो । जुनबेला नन्दरामले ठूलै युद्ध जितेको अनुभुति गरेका थिए ।

२०६६ सालमा नन्दरामकै अगुवाइमा ऐँसेलुभूमे माध्यमिक विद्यालय बन्न सफल भयो । २०७४ सालमा देशभरका २२२ नमुना विद्यालय मध्येको ऐँसेलुभूमे नुवाकोट जिल्लाको एक नमुना विद्यालय हो । २०६९ देखि उच्च मावितर्फको पनि पठनपाठन सुरु गरेको ऐँसेलुभूमेले २०७१ सालदेखि एसइइको नतिजामा सामुदायिकतर्फ जिल्लाका सबैजसो विद्यालयलाई उछिन्दै अघि बढेको छ ।

यो पनि पढ्नुहोस्

नुवाकोटको किस्पाङको पाखामा शिक्षाको ज्योति छर्ने नन्दरामलाई प्रवल जनसेवा श्रीबाट सम्मान गरिने

पढ्दै–कमाउँदैः नुवाकोटको ऐसेलु भूमे माविको सफलताको कथा

प्रकाशित मिति : २७ असार २०८०, बुधबार १४:०७