१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

माग भन्दा बढी आवेदन पर्दा पनि किन थपियाे घोराही सिमेन्टकाे आईपीओ भर्ने म्याद ?

४ असार, काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीले जेठ ३२ देखि सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ ) मा मागभन्दा बढी आवेदन परे पनि आईपीओ भर्ने म्याद भने थप गरिएकाे छ ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन पर्दा पनि म्याद थप्नुलाई अहिले शंकास्पद दृष्टिकोणले हेरिएकाे छ । कम्पनीले सूचना प्रकाशित गर्दै प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपिएको जनाएकाे छ । अब कम्पनीकाे आईपीओमा असार १४ गतेसम्म आवेदन दिन सकिने र यसअवधिमा सबै आवेदन प्रमाणित गर्दा माग अनुसार आवेदन प्राप्त भएमा भने असार १४ गते अगाडी नै पनि आवेदन बन्द गर्न सकिने कम्पनीले जनाएकाे छ ।

सीडीएसकाे पछिल्लाे तथ्याङ्क अनुसार कम्पनीकाे आईपीओमा आइतबार साँझसम्ममा ४ लाख ४५ हजार ८९० आवेदकबाट कुल १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.४९ गुणाले बढी हो।

कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको छ। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ।

उक्त आईपीओमा लगानिकर्ताले प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्नेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ। कम्पनीकाे आईपीओमा १० कित्ता भर्न लगानीकर्ताहरूले कम्तिमा ४ हजार ३ सय ५० रूपैयाँ जम्मा गर्नुपर्नेछ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सम्पूर्ण सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : 10:26