२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजीत राईसहित थप तीन अभियुक्त पक्षको बहस आज हुने

२५ जेठ, काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणका पक्राउ मध्ये डा. इन्द्रजीत राईसहित थप तीन अभियुक्त पक्षको थुनछेक बहस आज(बिहीवार) हुँदैछ ।

जिल्ला अदालत काठमाडौंका अनुसार डा. राईसहित सन्देश शर्मार सागर राईको पक्षबाट आज बहस हुनेछ । बुधवार बाँकी रहेको हुँदा अर्का अभियुक्त सानु भण्डारीको बहस पनि आजै हुनेछ । केशब दुलाल र टंक गुरुङ पक्षको बहस भने बुधवार नै सकिएको छ । प्रतिवादी पक्षबाट बहस बुधवारदेखि जारी छ ।

बहसमा पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठ, बरिष्ठ अधिवक्ता बालकृष्ण ढकाल, बिनोद शर्मा लगायतका अधिवक्ता सहभागि हुनेछन् । अदालतका अनुसार उनीहरु विरुद्धको बहस आजै सकिने छ । शुक्रवार भने पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायत प्रतिवादी पक्षबाट बहस हुनेछ ।

बहस गत २१ जेठदेखि जिल्ला न्यालधिस प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी छ । जाहेरीकर्ता पक्षको बहस मंगलवार नै पुरा भएको छ । पुर्व गृहमन्त्री खाणले बहसका निम्ति पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एशोसियशनका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेसहित अधिवक्ताको १८ टोली नियुक्त गरेका छन् ।

त्यस्तै, पूर्व उपप्रधान तथा उर्जामन्त्री रायमाझीले पनि थुनछेक बहसमा ‘हाइप्रोफाइल’ अधिवक्तालाई बहसमा उतारेका छन् । अदालतमा पेश विवरण अनुसार उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्याधिवक्ता सुशील पन्तले गरेका छन् । टोलीमा पूर्व महान्यायधिवक्ता रमेश बडाल पनि सहभागि छन् । त्यस बाहेक धर्मराज रेग्मी, पर्शुराम कोइराला, करुणाकर मल्लिक, आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा बहस गर्दैछन् ।

पूर्व गृहसचिव पाण्डेले पनि बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्तलाई नै नियुक्त गरेका छन् । उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । डा. राईको पक्षबाट भने बरिष्ठ अधिवक्ता बालकृष्ण ढकालले बहस गर्नेछन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार ०९:२०