३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सुरु

२१ जेठ, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस सुरु भएको छ । हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रबार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनका अनुसार आज जाहेरीकर्ताका तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन्। इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताका तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिनको समय दिइएकाे छ । यस्तै प्रतिवादीको तर्फका वकिललाई छ दिनको समय दिइएको सूचना अधिकारी दाहालले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग अदालतका न्यायाधीश न्यौपानेलगायतले बयान लिएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबी गरेर जिल्ला अदालतमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : 13:16