१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छः सांसद सिंह


१० जेठ, काठमाडाैं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा जारी छलफलमा भाग लिदै सांसद प्रकाशमान सिंहले नागरिकको जीवनस्तरसँग जोडिएका योजना र कार्यक्रम बजेटको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।

अहिले नागरिकमा चर्को निराशा रहेकाले राजनीतिक स्थिरता र नागरिकका आकांक्षा पूर्ति हुनेगरी सरकारले बजेट ल्याउनुपर्ने उनको भनाइ छ ।

“नीति तथा कार्यक्रममा विभिन्न विषय समेटिएका छन्, यसको सही मूल्याङ्कन कार्यान्वयन भए पछि हुने हो”, उनले भने, “सीमित स्रोतसाधनका बाबजुद जनताको जनजीवनसँग जोडिएका विषय सम्बोधनका लागि न्यायोचित बजेट बिनियोजन आवश्यक छ । त्यसैअनुसार प्राथमिकता निर्धारण गर्नुपर्छ ।”

सुशासन प्रवद्र्धन तथा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताका लागि विधिको शासन लागू हुनुपर्ने बताउदै उनले कानुन अरुलाई मात्रै लागू हुने र आफ्ना लागि लागू नहुने भन्ने सोच खराब रहेको बताए ।

“नक्कली भुटानी शरणार्थी प्रकरण पनि विधिको शासनअनुसार छानबिन र कारबाहीको दायरामा ल्याइनुपर्ने उनको भनाइ छ । तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न र प्रभावकारीरुपमा काम गर्ने बनाउनका लागि आवश्यक कानुन निर्माणमा शीघ्रता दिनुपर्ने पनि उनले बताए । उनले सातवटै प्रदेशको विशेषता झल्किने गरी योजना ल्याउन सुझाव दिए ।

सङ्घीय राजधानीको एकीकृत विकास योजना बनाइनुपर्ने तथा समन्वय इकाइ गठन गर्नुपर्ने, राष्ट्रिय गौरव र रणनीतिक महत्वका योजना मात्रै केन्द्रबाट सञ्चालन गर्नुपर्ने, मझौला र साना आयोजना प्रदेश र स्थानीय तहलाई पठाउने, नेपाली वस्तुको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १५:४२